काठमाडौं– मंसिर १७ गतेदेखि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा निस्कने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को ऋणात्मक सम्झौता नगर्ने बताएका छन्।
ऋण लिन सकिने भए पनि अहिले मुलुकलाई ऋण थप्ने काम नगरिने सोमबार सिंहदरबारमा राखेको सुझाव बैठकमा ओलीले बताए।
सुझावका निम्ति उनले पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीसहित मन्त्रिपरिषदका तत्कालिन अध्यक्ष खिलराज रेग्मीलाई डाकेका थिए।
पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थिति रहेको कार्यक्रममा ओलीले भने,‘जुन मुलुकको भ्रमणमा पहिले गए पनि नेपालको सार्वभौमिकता मुख्य हो। हामी सार्वभौम हिसाबले सम्बन्ध विकास गर्छौं। भारतसँग पनि हाम्रो सम्बन्ध बलियो बनाएर कायम राख्छौं।’
चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी ओलीले दिएका छन्।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कांग्रेस र एमालेका विवाद नरहेको एक फरक प्रसङ्गमा परराष्ट्रमन्त्री आरजु राणाले बताएकी छन्। सोही भ्रमणको मेसो मिलाउन राणा मंसिर १३ गते चीन जानेछिन्।
प्रतिक्रिया