काठमाडौं- मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ ।
मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ता सिताराम रिजालले बताए । बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए ।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ । ‘जापानबाट ३ जना डिपोर्ट भएर फर्किएको भएपनि पूर्वमन्त्रीज्यू चाहिँ आफैं अध्यागमनलाई जानकारी गराएर फर्किनु भएको थियो’, अर्यालले थपे, ‘उहाँले बयानका क्रममा पनि इन्कार गरेर मानव तस्करीको कुरा सोचेको पनि छैन भन्नुभएको छ ।’
विमानस्थलको सीसी टीभी फुटेजमा पनि उनी अन्य तीन युवासँगै गएको नदेखिएको भनिएको छ ।
पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
त्यसक्रममा मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेत पक्राउ परेका थिए ।
पछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पूर्वमन्त्री अधिकारीलाई २५ कात्तिकमा विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
प्रतिक्रिया