स्याङ्जा ।
स्याङ्जाको भीरकोट नगरपालिकास्थित आँधीखोला किनार क्षेत्रको बगरमा परीक्षणका रूपमा लगाइएको तरबुजाले फल दिन थालेको छ । व्यावसायिक तरबुजा खेतीको सम्भाबना अध्ययन गर्न नगरपालिकाले बगरक्षेत्रमा परीक्षणका लागि तरबुजा खेती सुरु गरेको थियो ।
नगरपालिकाले कृषि क्षेत्रको विविधीकरण र आयआर्जन वृद्धि गर्ने उद्देश्यले नयाँ प्रयास अघि बढाएको जनाएको छ । हेफर परियोजना (प्रोजेक्ट) सँगको सहकार्यमा सञ्चालनमा आएको भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तरबुजा खेतीको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । अध्ययन सफल भएसँगै व्यावसायिक उत्पादनमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
आँधीखोला किनार क्षेत्रको हावापानी र माटो तरबुजा खेतीका लागि उपयुक्त देखिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा किसानलाई बीउ, बेर्ना, आवश्यक उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइएको थियो । नतिजा सकारात्मक देखिएपछि ठूलो परिमाणमा तरबुजाको व्यावसायिक उत्पादनका लागि नगरपालिकाले आन्तरिक तयारी थालेको जनाएको छ ।
भीरकोट नगरपालिका–१ वयरघारीस्थित आँधीखोला नदी किनारको खेलमैदान परिसर, वडा नं.–४ को छाङ्छाङदी फाँट, वडा नं.–५ को पकान क्षेत्र तथा वडा नं.–६ को एकुवार फाँट गरी करिब २० रोपनी क्षेत्रफलमा पहिलो पटक तरबुजा रोपिएको भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । अभियानमा १८ जना किसान प्रत्यक्ष संलग्न छन् । नदी किनारको बगर क्षेत्रलाई उत्पादनमूलक बनाउने उद्देश्यले कार्यक्रम अघि सारिएको प्रमुख कर्माचार्यले जानकारी दिए ।
जिल्लामै पहिलो पटक सुरु गरिएको नमूना खेती भएकाले किसानले नयाँ प्रविधि सिकेर तरबुजाको व्यावसायिक रुपमा विस्तार गर्न सक्ने नगरपालिकाले जनाएको छ । तरबुजाका लागि स्थानीय बजार अनुकूल मानिन्छ । उत्पादन र बजार दुवै पक्ष सकारात्मक देखिएपछि भीरकोटका लागि तरबुजा नयाँ सम्भावनाको श्रोत बनेसँगै स्थानीय किसान उत्साहित बनेका छन् ।
परियोजनाअन्तर्गत ‘लक्ष्मी’ र ‘सरस्वती’ जातका तरबुजा रोपिएका थियो । दुबै जातले स्थानीय हावापानीमा राम्रो उत्पादन दिने अपेक्षा गरिएको भीरकोट नगरको कृषि शाखा प्रमुख श्रवणकुमार विष्टले जनाए । नगरपालिकाले तरबुजा खेतीसँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनलाई एकसाथ अगाडी बढाउने भएको छ । परम्परागत खेतीमा सीमित किसानलाई वैकल्पिक र नगदे बालीतर्फ आकर्षित गर्ने रणनीतिअनुसार कार्यक्रम अघि सारेको नगरपालिकाले जनाएको छ ।
कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, स्थानीयस्तरमा रोजगारी सिर्जना र आयआर्जन अभिवृद्धि गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । स्थानीय किसानहरु पनि नयाँ खेतीप्रति आकर्षित देखिएका छन् । नदी किनारको बगर जमिन प्रायः बाँझै रहने खेरा जाने गरेकामा आउँदा दिनमा उक्त जमिनलाई उत्पादनशील बनाउने प्रयासले सकारात्मक सन्देश दिएको छ । बगरमा लगाएको तरबुजाले फल लाग्न थालेपछि आफू उत्साहित भएको भिरकोटकी किसान पुष्पा अर्यालले बताईन् ।

प्रतिक्रिया