शेखर गोल्छा पक्राउपछि झस्कियो निजी क्षेत्र

शेखर गोल्छा पक्राउपछि झस्कियो निजी क्षेत्र


काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेक भएको भन्दै निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको प्रतिक्रिया आएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाले निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् । विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउँदै आएको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व र पूर्वाधार विकासमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

नियामकीय निकायका प्रतिवेदनकै आधारमा उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै निजी क्षेत्रले आर्थिक कसुरका विषयमा ‘पहिले सुनुवाइ, त्यसपछि मात्रै कारबाही’को सिद्धान्त अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहँदा–रहँदै पनि पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित र दुःखी बनाएको उल्लेख छ ।

विज्ञप्तिमा यस्तो धरपकडले व्यक्तिमात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ प्रणाली तथा समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ । साथै, सरकारले निजी क्षेत्रलाई नीति तथा कानुन निर्माण प्रक्रियामा सहभागी गराउने कदमलाई सकारात्मक रूपमा लिइएको भए पनि पछिल्लो गतिविधिले निजी क्षेत्र थप सशंकित बनेको जनाइएको छ ।

निजी क्षेत्रले कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा कुनै असहमति नरहेको स्पष्ट पार्दै नेपालको संविधान ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने व्यवस्थाको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

विगत चार वर्षदेखि शिथिल अर्थतन्त्रलाई नयाँ सरकारको नीति तथा व्यवसायीमैत्री व्यवहारले गतिशील बनाउने अपेक्षा गरिएको भए पनि पछिल्ला गतिविधिले लगानी वातावरणमा नकारात्मक सन्देश जाने जोखिम रहेको निजी क्षेत्रको भनाइ छ ।

लगानी वृद्धि र आर्थिक समृद्धिका लागि उद्यमीको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै सम्बन्धित सबै पक्षलाई यसतर्फ गम्भीर हुन आग्रह गरिएको छ ।