सरकारले भन्यो – सुकुम्बासीमाथि जबरजस्ती बल प्रयोग गर्ने योजना छैन

सरकारले भन्यो – सुकुम्बासीमाथि जबरजस्ती बल प्रयोग गर्ने योजना छैन


काठमाडौं । सरकारले सुकुम्बासी बस्तीमा प्रहरी लगाएर जबरजस्ती बल प्रयोग गर्ने योजना नभएको जनाएको छ ।

शुक्रबार (वैशाख ११) मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सो कुरा बताएका हुन् ।

सुकुम्बासी बस्तीहरू बर्सेनि बाढीको प्रकोपमा पर्ने र यसपालि पनि बर्खा नजिकिँदै गरेका कारण उनीहरूको सुरक्षाका लागि स्थानान्तरण गर्न लागिएको उनको भनाइ छ ।

पोखरेलले भने, “जबरजस्ती प्रहरी बल प्रयोग गरेर डोजर लगाउने योजना छैन । रिक्वेस्ट गरेर सुरक्षित ठाउँमा सार्न सरकारले अघि बढाएको हो ।”

सक्कली सुकुम्बासीको पहिचान गरिने र सुरक्षित ठाउँमा लगेर राखिने उनको भनाइ छ । “आजको दिनसम्म सुकुम्बासी बस्तीमा धेरै राजनीति हुँदै गयो । हामी राजनीति गर्ने पक्षमा छैनौँ । अब त्यहाँ राजनीति हुनेछैन,” उनले भने ।

जिल्ला प्रशासन काठमाडौंले थापाथलीका लगायतका नदी किनारका सुकुम्बासीलाई घर टहरा खाली गर्न भनेको छ ।