गाजा संकट गहिरिँदै, मृतक संख्या बढ्दो

गाजा संकट गहिरिँदै, मृतक संख्या बढ्दो


काठमाडौं । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन् ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन् भने अन्य केही घाइते भएका छन् ।

त्यसैगरी, दक्षिण गाजाको खान युनिस पश्चिममा पर्ने अल-मवासी क्षेत्रको ‘बिर १९’ क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारीसाधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ, जसमा केही व्यक्तिहरूको मृत्यु र घाइते भएको छ । खान युनिसस्थित नासेर अस्पतालका स्रोतका अनुसार उक्त आक्रमणपछि ५ वटा शव र धेरै घाइतेहरू अस्पताल पुर्‍याइएका छन् ।

यसअघि गाजा सिटीमा गरिएको अर्को आक्रमणमा प्रहरी गस्तीमाथि हमला हुँदा दुई जना प्रहरीको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए । यी घटनाहरूमा इजरायलको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो घटनाक्रम जारी तनाव र युद्धविराम उल्लङ्घनका बीच भएको बताइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २हजार २३५ जना घाइते भएका छन् ।