बस्ती छाड्दै मनोहराका सुकुम्बासी

बस्ती छाड्दै मनोहराका सुकुम्बासी


भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुम्बासीले बस्ती छाडेका हुन् ।

सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीका ८० प्रतिशतले आज दिउँसो २ः०० बजेसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिए ।

बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेका बताउँदै उहाँले शुक्रबार बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुम्बासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिए । सरकारले थापाथलीको बस्ती हटाइसकेको जनाउँदै उनले तीनकुने गैह्रीगाउँस्थित सुकुम्बासी बस्ती हटाइरहेको उल्लेख गरे । उनकाअनुसार त्यहाँको बस्ती हटाइसकेपछि सोही टोली आएर मनोहरा किनाराको दायाँबायाँ रहेका बस्ती हटाउने छन् ।

भ्याएसम्म आज, नभ्याए भोली बिहानदेखि बस्ती हटाउने बताउँदै प्रहरी उपरीक्षक खड्काले सुकुम्बासीले सरकारको अभियानलाई सहयोग गर्दै बस्ती छाड्नु सकारात्मक पक्ष भएको धारणा राखे । मनोहरा सुकुम्बासी बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसिरहेका उहाँले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै साँझसम्म भत्काउन तयारीका साथ भक्तपुरबाट करिब १०० भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका उनले जानकारी दिए ।

यहाँका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घरहरू भाडामा लगाएका छन् । पक्की घर पनि भाडामा बसिरहेका हुन्, यहाँ सुरुमा टहरा बनाएर एक समूहले रु तीन लाखदेखि रुसात लाखसम्म र पक्की घर रु १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामी जस्ता सुकुम्बासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”
सुकुम्बासी बस्तीका बासिन्दासँग भाडा उठाउन कोही व्यक्ति आउने गरेको बताउँदै बस्तीका बासिन्दामध्ये धेरैले भाडा तिर्ने गरेको बताउँछन् । सरकारले उचित क्षतिपूर्ति दिने वा बासको उचित व्यवस्थापन गरिदिए, यो गन्हाउने खोलाको किनारामा बस्न रहर नभएको सुकुम्बासी बताउँछन् ।