काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को ओमान र यूएईसमेत सहभागी त्रिकोणी सिरिजमा नेपालले महत्त्वपूर्ण ६ अंक जोडेको छ । यो सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार ओमानमाथि ८१ रनको महत्त्वपूर्ण जित हात पार्यो । ८ देश सहभागी लिगको सातौँ स्थानमा रहेको नेपालका लागि यो घरेलु सिरिज महत्त्वपूर्ण थियो । जसमा नेपालले चारमध्ये ३ खेल जितेर महत्त्वपूर्ण ६ अंक जोडेको हो । यो सिरिजपछि पनि नेपालको २४ खेलबाट ८ जितका साथ १८ अंक भएको छ ।
नेपालले सिरिजमा यूएईलाई दुईपटक पराजित गरेको थियो भने ओमानसँग एकमा जित र अर्कोमा हार व्यहोरेको हो । मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० औँ ओभरमा सबै विकेट गुमाउँदा २५६ रन बनाएको थियो । जवाफमा ओमान ४० औँ ओभरमा १७५ रन बनाउँदा अलआउट भयो ।
यो जितमा नेपालका लागि ब्याटिङबाट ओपनर आसिफ शेख, अर्जुन कुमाल र आरिफ शेखले महत्त्वपूर्ण योगदान दिए । आसिफले ९४ रन बनाएका थिए भने अर्जुनले ४८ र आरिफले ४३ रनको योगदान दिएका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए ।
जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको ओमानलाई गुल्सन झाले ध्वस्त पारे । उनले ९ ओभरमा ३५ रन दिएर ५ विकेट लिए । यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
नेपालले ४ मध्ये ३ खेलमा जित हात पारेसँगै अंक तालिकाको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको छ । अझै नेपालले १२ खेल खेल्न बाँकी छ । नेपालले आगामी हप्ता त्रिवि मैदानमै अंकतालिकाको शीर्ष स्थानमा रहेको अमेरिका र दोस्रो स्थानमा रहेको स्कटल्यान्ड सहभागी अर्को सिरिज खेल्नेछ । नेपालले १२ मेमा यो त्रिकोणी सिरिजको पहिलो खेल स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालका लागि यही सिरिजबाट युवा ब्याटर अर्जुन कुमालले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका छन् ।

प्रतिक्रिया