एजेन्सी । इङ्ग्ल्यान्ड पुरुष क्रिकेट टिम नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टिम बन्न सक्ने सम्भावना देखिएको छ । इङ्ग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड ईसीबीले २०२७–३१ अन्तर्राष्ट्रिय चक्रको कुनै चरणमा नेपालमा छोटो टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ । इङ्ग्ल्यान्डले नेपाल भ्रमण गर्यो भने त्यो नेपाली क्रिकेटका लागि ऐतिहासिक टर्निङ प्वाइन्ट हुनेछ ।
हालका वर्षहरूमा नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्ष यूएईमा भएको शृंखलामा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलोपटक आईसीसी पूर्ण सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । तर अहिलेसम्म नेपालले कुनै टेस्ट खेल्ने राष्ट्रलाई पूर्ण अन्तर्राष्ट्रिय भ्रमणका लागि घरेलु मैदानमा स्वागत गरेको छैन ।
यो अवस्था भने यसै वर्ष परिवर्तन हुन सक्ने संकेत देखिएको छ । इएसपीएन क्रिकइन्फोका अनुसार मार्चमा क्रिकेट आयरल्यान्डले क्रिकेट एसोसिएसन अफ नेपाल क्यानसँग पाँचवर्षे ‘स्ट्राटेजिक पार्टनरसिप एग्रिमेन्ट’ गरेको घोषणा गर्दै २०२६–२७ को जाडो याममा सीमित ओभरको शृंखलाका लागि नेपाल भ्रमण गर्ने योजना रहेको जनाएको थियो ।
इङ्ग्ल्यान्ड र नेपालबीच पहिलो भेट सन् २०२६ फेब्रुअरीमा टी–२० विश्वकपमा भएको थियो । मुम्बईको वानखेडे स्टेडियममा नेपाली समर्थकले भरिएको वातावरणमा भएको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्डले अन्तिम बलमा जित निकालेको थियो । त्यस खेलपछि भारतमै क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले ईसीबीका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
ईसीबीले पछिल्ला महिनाहरूमा अन्य क्रिकेट बोर्डहरूसँग मिलेर २०२७–३१ को फ्युचर टुर्स प्रोग्राम एफटीपीमा काम गरिरहेको छ । यद्यपि नयाँ विश्व टेस्ट च्याम्पियनसिप डब्लुटीसीको ढाँचाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको अन्तिम निर्णय आउन बाँकी भएकाले केही विषय अझै टुंगो लागेको छैन । विशेष गरी टेस्ट शृंखलामा न्यूनतम दुई खेलको व्यवस्था हटाउने वा नहटाउने विषयमा अन्योल छ ।
यद्यपि ईसीबीले सो चक्रको कुनै चरणमा नेपाल भ्रमणको सम्भावनालाई गम्भीर रूपमा विचार गरिरहेको बताइएको छ । सम्भावित रूपमा यो भ्रमण अर्को सीमित ओभरको शृंखला, उदाहरणका लागि भारत भ्रमण, अघि राख्न सकिनेछ । व्यस्त अन्तर्राष्ट्रिय तालिकाबीच खेल थप्न ईसीबी सतर्क भए पनि दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला अर्को शृंखलाको तयारीका रूपमा उपयोगी हुन सक्ने र यसले यात्रामा केही दिन मात्र थप्ने विश्वास गरिएको छ ।
टी–२० विश्वकपका क्रममा वानखेडेमा नेपाली समर्थकहरूको उत्साह उच्च देखिएको थियो । नेपालका कप्तान रोहित पौडेलले त्यसबेला ठूला क्रिकेट राष्ट्रले नेपाल भ्रमण गरेमा यसले क्रिकेटलाई ‘विश्वव्यापी बनाउन मद्दत गर्ने’ बताएका थिए ।
‘अष्ट्रेलिया वा इङ्ग्ल्यान्ड नेपाल आए भने त्यसको ठूलो अर्थ हुन्छ,’ उनले भनेका थिए । ‘यसले विश्व क्रिकेटलाई नेपालले पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ भन्ने देखाउँछ । यो निकै महत्वपूर्ण कुरा हो ।’
बेलायतको प्रमुख टेलिभिजन अधिकारधारी स्काइ स्पोर्ट्सले आइतबार ‘नेपालस् क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक डकुमेन्ट्री प्रसारण गरेको थियो, जसमा नेपालमा क्रिकेटप्रतिको उत्साहलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । सो डकुमेन्ट्रीमा पारस खड्काले ठूला अन्तर्राष्ट्रिय टिमहरूलाई नेपाल भ्रमण गरेर नेपाली क्रिकेटलाई ‘एक्सपोजर’ दिन आग्रह गरेका छन् ।
‘अहिले नेपाली क्रिकेटलाई सबैभन्दा आवश्यक कुरा एक्सपोजर हो,’ पारसले भनेका छन् । ‘हामी ओडीआई राष्ट्र भएकाले टेस्ट खेल्ने टिमसँग खेल्न चाहन्छौं, किनभने राम्रो क्रिकेटरसँग खेल्दा मात्रै खेलाडीको स्तर सुधार हुन्छ । बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्दा मात्रै सिकाइ हुन्छ ।’
उनले थपे, ‘यसले नेपालका नयाँ पुस्ताका बालबालिकामा अझ ठूलो ऊर्जा भर्नेछ, किनभने अहिले क्रिकेट युवा नेपालीहरूको मनमा बसिसकेको छ । क्रिकेट केवल खेल मात्र होइन, यो देशलाई एकताबद्ध बनाउने सबैभन्दा ठूलो माध्यम बनेको छ ।’
इङ्ग्ल्यान्डको पुरुष टिमले सन् २०२७ को घरेलु सिजनमा अस्ट्रेलियाविरुद्धको एसेज शृंखलालाई मुख्य आकर्षणका रूपमा आयोजना गर्नेछ । साथै पाकिस्तान (जुन) र न्यूजिल्यान्ड (सेप्टेम्बर) पनि सीमित ओभरको शृंखलाका लागि इङ्ग्ल्यान्ड भ्रमण गर्ने सम्भावना छ । आईसीसीले डब्लुटीसी २०२७–२९ को ढाँचाबारे अन्तिम निर्णय गरेपछि पाकिस्तान भ्रमणमा एक टेस्ट खेल पनि समावेश हुन सक्नेछ ।

प्रतिक्रिया