रोहित र इशानको अर्धशतकमा नेपालले स्कटल्यान्डलाई हरायो

रोहित र इशानको अर्धशतकमा नेपालले स्कटल्यान्डलाई हरायो


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक पारी खेले । उनले ९८ बलमा ५ चौका र २ छक्कासहित ७४ रन जोडे । इशान पाण्डेले पनि अर्धशतक बनाए । उनले ६१ बलमा ५५ रन जोडे । एकदिवसीय क्रिकेटमा नेपालका लागि पाण्डेको यो पहिलो अर्धशतक हो ।

यसअघि ‌ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश: २८ र २९ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने २ रनमा आउट हुँदा आरिफ शेख ८ रन बनाउँदै अविजित रहे ।

स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो ।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलन र माइकल इङ्लिशले अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरे । माइकल इङ्लिशले ५१ रन जोडे ।

नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए । उनले ८ बलमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । नन्दन यादव, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यस सिरिजको पहिलो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो ।