कुशलको कीर्तिमानी शतकमा नेपालको सानदार जित

कुशलको कीर्तिमानी शतकमा नेपालको सानदार जित


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालसँग हारका बाबजुद पनि मलेसियाले समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।

बिहीबार नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए ।

नेपालका लागि शेर मल्लले तीन विकेट लिए । त्यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक-ृएक विकेट लिए ।

त्यसअघि सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा २७५ रन बनाएको थियो ।

नेपालका लागि कुशल भूर्तेलले शतकीय र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १२६ रन बनाए । २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनायो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ र सन्दीप जोराले १५ र लोकेश बमले १० रन बनाए ।

मलेसियाका लागि विरनदीप सिंहले ३, तथा विजय उन्नी र सैयद अजीजले २-२ विकेट लिए ।