काठमाडौं । एसियन गेम्स छनोटको क्रिकेटमा नेपालले फाइनलमा स्थान पक्का गरेको छ ।
सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
यससँगै नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि, समुह चरणमा नेपालले मलेसिया र चीनलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि लोकेश बमले सर्वाधिक नटआउट ४४ रनको योगदान गरे । कप्तान रोहित कुमार पौडेल २१ रनमा नटआउट रहँदा कुशल भूर्तेलले २० रन जोडे ।
ओमानका लागि समिर ओभथमानले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो ।
ओमानका लागि कप्तान सुफ्यान महमुदले ३८ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमापाल कामी र सन्दीप लामिछानेले २–२ तथा शाहाब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
अब नेपालले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजै हुने सेमिफाइनलमा हङकङ र मलेसिया आमने सामने हुनेछन् ।
यसअघिनै नेपाल, मलेसिया, हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया