प्रधानमन्त्री बालेनलाई व्यंग्य गर्न संसद्‌मा उर्मिलाले सुनाइन् कविता

प्रधानमन्त्री बालेनलाई व्यंग्य गर्न संसद्‌मा उर्मिलाले सुनाइन् कविता


काठमाडौं । प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बिहीबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको ब्याग्यात्मक कविता सुनाएकी हुन् ।

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ

म ढुक्क थिएँ

तर एकाएक

तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको

अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ

तर

त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ

तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ !

त्यसैले आज म ढुक्क होइन

मेरो मन देशको चिन्ताले

ढुकढुक भैरहेको छ । ।

स्वार्थले प्रेरित भएपछि

सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स

तिमीमाथि असीम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स

जनता उभिएको माटोलाई नबिर्स

तिमीलाई आशिष दिने

ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

र जुन दिन देश बिर्सिन्छौ

त्यो दिन

तिमि कस्को शासक बन्नेछौ ?

भन

त्यो दिन तिमि

कस्को शासक बन्नेछौ?