विश्वकपका खेल प्रशासनको अनुमतिविना ठूलो पर्दामा देखाउन नपाइने

विश्वकपका खेल प्रशासनको अनुमतिविना ठूलो पर्दामा देखाउन नपाइने


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनुमतिविना ठूलो पर्दामा सामूहिक रूपमा प्रत्यक्ष प्रसारण नगर्न चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौं जिल्लाभित्र संघ, संस्था वा कम्पनीले विश्वकपका खेलहरू ठूलो पर्दामा देखाएर भीडभाड गराउने कार्य गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार रातिको समयमा ठूलो पर्दामा खेल प्रदर्शन गर्ने नाममा भीड जम्मा हुँदा समुदायमा असर पर्न सक्ने तथा शान्ति–सुरक्षामा चुनौती सिर्जना हुन सक्ने भएकाले यस्तो गतिविधिलाई नियमन गर्न अनुमति व्यवस्था लागू गरिएको हो ।

सूचनामा विश्वकपका खेल सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघ–संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमार्फत तोकिएको ढाँचामा निवेदन दिन सक्ने व्यवस्था रहेको जनाइएको छ । प्राप्त निवेदनमा उल्लेख गरिएका सर्त तथा सुरक्षा व्यवस्थाको मूल्याङ्कनपछि मात्रै अनुमति प्रदान गरिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पूर्वस्वीकृतिविना विश्वकपका खेल प्रदर्शन गरेको, भीडभाड गराएको वा अवाञ्छित तथा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

कार्यालयले सम्बन्धित सबै पक्षलाई शान्ति–सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी नियम पालना गर्न आग्रह गरेको छ ।