विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर – गगन थापा

विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् ।

शुक्रबार ‘द ग्रिन टेबल’ नामक कार्यक्रममा ‘विपद् व्यवस्थापनः नीति निर्माणदेखि प्रभावकारी कार्यान्वयनसम्म’ विषयक छलफलपछि बोल्दै उनले विपद् व्यवस्थापनसम्बन्धी नीतिहरू राम्रो भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘विपद् व्यवस्थापनका लागि हामीसँग राम्रा नीतिहरू छन् । तर किन कार्यान्वयन भएन भन्ने विषयमा कार्यान्वयन गर्ने ठाउँमा रहेको राजनीतिक नेतृत्वको नियतमाथि शंका गरेको होइन, तर बुझाइको सन्दर्भमा कहीं न कहीं समस्या छ ।’

थापाले नेपाली कांग्रेसले भविष्यका जनप्रतिनिधिहरूलाई सक्षम नेतृत्व विकास गर्न ‘लिडरसिप एकेडेमी’ निर्माणको काम गरिरहेको जानकारी दिए । उनले उक्त एकेडेमीको पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी अध्ययनलाई पनि समावेश गरिने बताए ।

उनले भने, ‘त्यसैले हामीले गर्न खोजेको लिडरसिप एकेडेमी अहिले बनाइरहेका छौं । त्यसको कोर्ष विकास गरिरहेका छौं । त्यसमा भविष्यमा पालिका प्रमुख बन्ने व्यक्तिका लागि तयार गरिने कोर्षमा विपद् व्यवस्थापनसम्बन्धी निश्चित क्रेडिट आवर पनि राखेका छौं । जसले गर्दा भोलि मेयर वा वडाध्यक्षको जिम्मेवारीमा पुग्ने व्यक्तिले विपद्को विषयमा राम्रो ज्ञान हासिल गर्न सकून् ।’

कांग्रेसको सदस्य संख्या उल्लेख गर्दै उनले विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पार्टीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले भने, ‘करिब साढे ६ लाखदेखि ७ लाखसम्म हाम्रो दर्ता सदस्य हुनुहुन्छ । सबै प्रक्रिया सम्पन्न हुँदा यो संख्या ८ लाखदेखि ९ लाखसम्म पुग्न सक्छ । त्यो हिसाबले हेर्दा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक संगठन पनि हो । विपद्सम्बन्धी विषयमा सचेतना फैलाउने हो भने हामी एकैपटक ९ लाख मानिसलाई सचेत बनाउन सक्छौं ।’