बोधी संवाद : अर्थतन्त्र र भू–राजनीतिबारे अन्तर्राष्ट्रिय विमर्श हुँदै

बोधी संवाद : अर्थतन्त्र र भू–राजनीतिबारे अन्तर्राष्ट्रिय विमर्श हुँदै


काठमाडौं । नेपालसहित दक्षिण एसिया र विश्वव्यापी रूपमा विकसित आर्थिक, राजनीतिक तथा भू–राजनीतिक परिवर्तनबारे छलफल गर्न अर्थशास्त्री, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरू काठमाडौंमा भेला हुने भएका छन् ।

नेपालको थिंक ट्यांक सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गर्न लागेको ‘बोधी संवाद’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, अमेरिका, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अस्ट्रेलियालगायत १६ देशका ४० भन्दा बढी विज्ञ सहभागी हुनेछन् । सम्मेलनमा बदलिँदो भू–आर्थिक र भू–राजनीतिक परिवेशमाथि गहन विमर्श गरिनेछ ।

सेसिफका कार्यकारी अध्यक्ष तथा पूर्वराजदूत विजयकान्त कर्ण ले विश्व तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै आर्थिक शक्ति सन्तुलन, प्रविधिको प्रभाव र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ आयामबारे गम्भीर संवाद आवश्यक भएकाले ‘बोधी संवाद’ आयोजना गरिएको बताए । उनका अनुसार नेपालको वर्तमान परिवेशमा यस्ता विमर्श झन् सान्दर्भिक बनेका छन् ।

सम्मेलनमा वरिष्ठ कूटनीतिज्ञ, अर्थशास्त्री, सुरक्षा विज्ञ, शिक्षाविद्, प्रविधि विशेषज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिले अनुभव र विचार आदानप्रदान गर्नेछन् । नीति निर्माण, शैक्षिक अनुसन्धान, निजी क्षेत्रको अनुभव र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कर्णले बताए ।

उनका अनुसार २–३ असार मा ‘नेपालको आर्थिक विकासको सम्भावना’ विषयमा छलफल हुनेछ भने ४–५ असार मा ‘दक्षिण एशियामा भू–राजनीतिक परिवर्तन र चीनको भूमिका’ विषय केन्द्रमा रहनेछ ।

पहिलो चरणको कार्यक्रममा नेपालका प्रमुख आर्थिक चुनौतीहरू—दीर्घकालीन न्यून आर्थिक वृद्धि, रेमिट्यान्समा निर्भरता र तीव्र युवा पलायन—बाट बाहिर निस्कने उपायबारे बहस हुनेछ । यस सत्रका प्रमुख वक्ता अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनेछन् ।

यस्तै, दोस्रो चरणमा दक्षिण एशियाको बदलिँदो भू–राजनीतिक अवस्थाको विश्लेषण गरिनेछ । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि तथा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, भारतका पूर्व विदेश सचिव विजय केशव गोखले र लोकतन्त्र, मानवअधिकार तथा श्रम मामिलाका लागि पूर्व अमेरिकी सहायक विदेशमन्त्री टम मालिनोव्स्की लगायतका वक्ताले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा राजनीतिक नेतृत्व, नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार, अनुसन्धानकर्ता तथा युवा नेतृत्वको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।