वासिङ्टन डी.सी. । अमेरिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारका लागि आवश्यक डाटा सेन्टर निर्माणप्रति आम नागरिकको विरोध बढ्दो देखिएको छ । ग्यालपले मार्च २ देखि १८ सम्म सञ्चालन गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत अमेरिकीले आफ्नो स्थानीय क्षेत्रमा एआई डाटा सेन्टर निर्माणको विरोध गरेका छन् । तीमध्ये ४८ प्रतिशतले कडा विरोध जनाएका छन् । यता, केवल २६ प्रतिशतले यस्ता परियोजनाको समर्थन गरेका छन्, जसमा ७ प्रतिशत मात्र दृढ समर्थक छन् ।
ग्यालपले पहिलोपटक डाटा सेन्टर निर्माणबारे जनमत संकलन गरेको हो । व्यवसाय, विश्वविद्यालय तथा अन्य संस्थाहरूले प्रयोग गर्ने एआई प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटिङ उपकरण राखिने यी केन्द्रहरूलाई ठूलो भू–भाग, अत्यधिक विद्युत् र उपकरण चिस्याउन ठूलो मात्रामा पानी आवश्यक पर्छ । यही कारणले वातावरणीय असर र स्थानीय विद्युत् शुल्क बढ्ने चिन्ता व्यापक बनेको छ ।
वातावरणीय चिन्ता प्रमुख कारण
सर्वेक्षणअनुसार ४६ प्रतिशत उत्तरदाताले डाटा सेन्टरको वातावरणीय प्रभावबारे अत्यधिक चिन्ता व्यक्त गरेका छन् भने २४ प्रतिशतले मध्यम स्तरको चिन्ता रहेको बताएका छन् ।
अप्रिलमा गरिएको अर्को खुला प्रश्नसहितको सर्वेक्षणमा डाटा सेन्टर निर्माणको विरोध गर्ने अधिकांश व्यक्तिले वातावरणीय कारणलाई मुख्य आधार बनाएका थिए । विरोधीमध्ये आधाले डाटा सेन्टरले अत्यधिक प्राकृतिक स्रोतको प्रयोग गर्ने बताएका छन् । १८–१८ प्रतिशतले पानी र ऊर्जाको अत्यधिक खपतलाई प्रमुख समस्या मानेका छन् भने १६ प्रतिशतले ध्वनि, वायु र जल प्रदूषणको जोखिम औँल्याएका छन् ।
करिब २० प्रतिशत विरोधीले स्थानीय जीवनस्तरमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले जनसंख्या वृद्धि, ट्राफिक जाम तथा जमिनको वैकल्पिक उपयोगको पक्षमा तर्क दिएका छन् । त्यस्तै, बढ्दो विद्युत् शुल्क, जीवनयापन खर्च वृद्धि र करदाताको पैसाबाट निर्माण खर्च व्यहोर्नुपर्ने सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
समर्थकले आर्थिक लाभ देखे
डाटा सेन्टर निर्माणको समर्थन गर्ने दुईतिहाइ अमेरिकीले आर्थिक लाभलाई प्रमुख कारण बताएका छन् । ५५ प्रतिशतले रोजगारीका अवसर बढ्ने उल्लेख गरेका छन् ।
अन्य समर्थकहरूले कर राजस्व वृद्धि, आवास तथा पूर्वाधार विकास र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन् । केहीले एआई प्रविधिबाट हुने प्राविधिक तथा व्यक्तिगत लाभको पनि चर्चा गरेका छन् ।
डेमोक्र्याट र महिलामा विरोध बढी
सर्वेक्षणले सबै प्रमुख जनसांख्यिक तथा राजनीतिक समूहमा डाटा सेन्टर निर्माणप्रति बहुमतको विरोध रहेको देखाएको छ । तर डेमोक्र्याट समर्थकहरू रिपब्लिकन समर्थकभन्दा बढी कडा विरोधी देखिएका छन् । ५६ प्रतिशत डेमोक्र्याटले कडा विरोध जनाएका छन् भने रिपब्लिकनमा यो अनुपात ३९ प्रतिशत छ । स्वतन्त्रमध्ये ४८ प्रतिशतले कडा विरोध गरेका छन् ।
महिलाहरू (५५ प्रतिशत) पुरुषहरू (४३ प्रतिशत) भन्दा डाटा सेन्टर निर्माणप्रति बढी नकारात्मक देखिएका छन् ।
उमेर, जातीयता, शिक्षा, आम्दानी वा शहरी–ग्रामीण बसोबासका आधारमा भने विरोधको स्तरमा उल्लेखनीय भिन्नता देखिएको छैन । पश्चिमी (६३ प्रतिशत) र पूर्वी (६८ प्रतिशत) क्षेत्रमा विरोध केही कम छ भने मध्यपश्चिम (७६ प्रतिशत) र दक्षिणी (७५ प्रतिशत) क्षेत्रमा बढी छ ।
एआई विस्तारमा चुनौती
एआईको प्रयोग र विकास विस्तार गर्न उच्च क्षमतायुक्त डाटा सेन्टरहरूको निर्माण अपरिहार्य मानिन्छ । ठूला प्रविधि कम्पनीहरूले केही क्षेत्रमा यस्ता केन्द्रहरू निर्माण गरिसकेका छन् । तर अधिकांश अमेरिकीले “मेरो घरछेउमा होइन” भन्ने मानसिकता अपनाइरहेका देखिएका छन् ।
विशेषज्ञहरूका अनुसार यो विरोध एआई पूर्वाधार विस्तारका लागि ठूलो चुनौती बन्न सक्छ । स्थानीय बासिन्दाबाट आन्दोलन, कानुनी चुनौती र राजनीतिक दबाब बढ्न सक्ने संकेत देखिएको छ । यसले डाटा सेन्टर निर्माणको विषयलाई स्थानीय तथा राज्यस्तरीय निर्वाचनमा समेत महत्त्वपूर्ण राजनीतिक मुद्दा बनाउने सम्भावना रहेको ग्यालपको निष्कर्ष छ ।

प्रतिक्रिया