काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहले विघटित नयाँ शक्ति पार्टीको स्थापना दिवस मनाएको छ । शनिवार प्रज्ञा प्रतिष्ठान, कमलादीको पारिजात हलमा ‘वैकल्पिक राजनीतिको समीक्षा र भावी कार्यदिशा’ प्रवचन कार्यक्रम आयोजना गर्दै १० वर्षको अघिको पार्टी स्थापना स्मरण गरियो ।
२०७३ जेठ ३० गते दशरथ रंगशालामा ठूलो भिडभाड र तामझामका साथ नयाँ शक्ति पार्टी स्थापना भएको थियो । तर, स्थापनापछिको पहिलो निर्वाचनमै पार्टीले शर्मनाक पराजय व्यहोरेपछि नयाँ शक्तिमा एकीकृत भएको पंक्ति तितरबितर हुँदै गएको थियो ।
७ वर्ष अघि २०७६ मा वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरी पार्टीको नाम ‘समाजवादी पार्टी’ बनाइएको थियो । तर, यो एकता पनि केही वर्षभन्दा धेरै टिकेन ।
डा. भट्टराई समूह २०७९ साउनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट फुटेपछि नेपाल समाजवादी पार्टी भन्ने गरिएको थियो ।
गत वर्ष फागुन २१ गते माओवादीको जनार्दन शर्मा समूहसँग एकतापछि त्यसको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी ( प्रलोपा ) छ । यसको अध्यक्ष अहिले सन्तोष परियार छन् । चुनावपछि डा. भट्टराईले पार्टीका सबै पदबाट राजीनामा र संगठनात्मक राजनीतिबाट सन्यास घोषणा गरेका थिए ।
शनिवारको कार्यक्रममा प्रलोपाका जनार्दन शर्मा, सन्तोष परियारपक्षका नेता, कार्यकर्ता उपस्थित थिएनन् ।
प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने– ‘साथीहरू बबुराम कहाँ छ भन्नुहुन्छ म यहीँ छु । उमेर र अवस्थाले वैचारिक राजनीतिमा लाग्ने विचार गरेको हुँ । औपचारिक राजनीतिक कुनै पद लिएर बसेको छैन । आजीवनमा पदमा बस्दा राम्रो पनि भएको छैन । तर, आवश्यक परे फेरि आउन पनि सक्छु ।’
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैकल्पिक राजनीतिको बहस र व्यवहार उल्टो हुँदै गएको गुनासो राखे । राउतले भने– ‘हामीले खोजेभन्दा उल्टो जन्मियो । हामी विचार शून्यताको युगमा प्रवेश गरेका छौं । आज कुन पार्टीको विचार के हो ? कसैले सुन्ने, खोज्ने वाला छैन । विचार शून्यता अत्यन्त खतरनाक हुन्छ । आज विध्वंशमा आकर्षण छ । डोजर लगाउँदा, भत्काउँदा मान्छे खुसी हुने अवस्था छ । जनताको घरमा जानै परेन, सेवा गर्नै परेन, परैबाट हिरोले हात हल्लाइदियो, पुग्यो ।’
उनले वैकल्पिक राजनीतिको कुरा गर्नेहरूले नयाँ पिँढीलाई आकर्षित गर्न नसकेको र आखिर व्यवहारमा रास्वपा नै सफल भएको निष्कर्ष निकाले ।
दूर्गा सोवले भनिनन्– ‘अहिलेका पार्टीहरू नयाँ हुन् । तर, वैकल्पिक होइनन् भन्ने लाग्छ । यिनले वैकल्पिक राजनीतिको आवश्यकतालाई पूरा गर्न सक्दैनन् ।’ उनले रास्वपा वैकल्पिक राजनीतिको सोचबाट फरक बाटोमा हिँडेको आरोपसमेत लगाइन् ।
कार्यक्रममा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीसमेत सामेल थिए । उनले भने– ‘दल र विचार दुवै समाधन होइनन्, साधन हुन् ।’ उनले रास्वाप आफ्ना त्रुटि कमीकमजोरी समीक्षा गर्दै र सच्याउँदै अघि बढ्ने बताए ।
नयाँ शक्तिका संस्थापकमध्ये एक नवराज सुवेदीले भने– ‘नयाँ शक्ति स्थापनाको उद्देश्य ठीकै थियो तर, कताकता हामी बहकियौं । शहरीया मध्यम वर्गको आकांक्षालाई हामीले कसरी नेतृत्व गर्नुपर्थ्यो, त्यो गर्न सकेनौं । हाम्रा सहयात्री को हुनसक्थ्ये, त्यसको छिनोफानो पनि गर्न सकेनौं ।’
उनले थपे– ‘भेल आउँछन्, जान्छन्, भदौरे भेल सधैँ रहँदैनन् । जति नयाँ शक्ति भनेर आउँछन्, सबै सधैँ नयाँ रहन्छन् भन्ने छैन । भनाइ र गराइबीचको खाडलले तिनलाई खाइदिन्छ । वैकल्पिक शक्तिको आवश्यकता अहिले पनि छ । तर, त्रुटिहरूलाई सच्याएर मात्र अघि बढ्न सकिन्छ ।’
सोनाम सिंह स्याङत्यानको अध्यक्षतामा भएको प्रवचन कार्यक्रममा राजेन्द्र केसी, डा.चन्द्रकान्त रिमाल, डा.मुक्ति रिजाल, डा. केशवमान शाक्यलगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया