वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी

वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी


काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयको अधिकांश काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित रहेको उल्लेख गरे ।उनकाअनुसार मन्त्रालयमा आउने उजुरी, गुनासा र समस्या अधिकांश वैदेशिक रोजगारसँग सम्बन्धित हुने भएकाले पहिले त्यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको छ ।

‘म मन्त्रालयमा जाँदा ८० प्रतिशत काम वैदेशिक रोजगारसँग सम्बन्धित थियो । दिनभरि वैदेशिक रोजगारका समस्या, पीडा र बेथिति सुन्दै समाधान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले हामीले वैदेशिक रोजगार ऐन संशोधन गरेर प्रणाली सुधार गर्ने र आन्तरिक रोजगारी विस्तार गर्ने निर्णय गरेका छौँ ।’

मन्त्री यादवले बेरोजगारीलाई देशको प्रमुख चुनौती भए पनि युवा नै सबैभन्दा ठूलो सम्भावना भएको बताए । अवसर, लगानी, बजार र आत्मविश्वासको कमीका कारण युवा पछि परिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो ठूलो समस्या युवा बेरोजगारी हो भनी हामी सबै भन्छौं तर नेपालको सबैभन्दा ठूलो सम्भावना पनि हामी युवा नै हो । तर अवसर, लगानी, बजार र कहीलेकाही आत्मविश्वासको कमिले पनि हामी पछाडि परेका छौं ।’

उनले उद्यमीहरूलाई राष्ट्र निर्माणको अग्रपङ्क्तिमा रहेको भन्दै विशेष धन्यवाद व्यक्त गरे । साथै सरकारले मात्रै रोजगारी सिर्जना गर्न नसक्ने उल्लेख गर्दै निजी क्षेत्र र उद्यमीहरू मुख्य आधार भएको बताए ।

‘समस्याहरुलाई चिरेर व्यवसाय गरिरहेका यहाँ उपस्थित उद्यमीहरुलाई विशेष धन्यवाद भन्छु, किनकी तपाईहरुले केवल आफ्नो व्यवसाय मात्र चलाउनु भएको हैन, अरुको लागि रोजगारी सिर्जना पनि गरिरहनु भएको छ । तपाईहरु राष्ट्र निर्माणको अग्रपङ्तिमा बसेर काम गर्नुभएको छ,’ उनले भने ।

सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने भन्दै उनले रोजगारी सिर्जनाको मुख्य शक्ति निजी क्षेत्र रहको बताए । ‘सरकारले मात्र रोजगारी सिर्जना गर्न सक्दैन, मुख्य शक्ति निजी क्षेत्र हो,’ उनले भने, ‘युवालाई जागिर खोज्ने होइन, अवसर पहिचान गर्ने बनाउनु आवश्यक छ ।’

मन्त्री यादवले युवालाई उद्यमशीलतामा जोड दिन सरकार प्रतिबद्ध रहेको पनि बताए ।