किन अल्जेरियाबाट खेलिरहेका छन् फ्रान्सका लेजेण्ड जिदानका छोरा लुका ?

किन अल्जेरियाबाट खेलिरहेका छन् फ्रान्सका लेजेण्ड जिदानका छोरा लुका ?


काठमाडौँ । फ्रान्सका महान फुटबलर जिनेदिन जिदानको नाम विश्व फुटबलमा अत्यन्त सम्मानका साथ लिइन्छ । तर, २०२६ विश्वकपमा उनका छोरा लुका जिदान भने फ्रान्स होइन, अल्जेरियाको जर्सीमा गोलपोस्ट सम्हालिरहेका छन् ।

अर्जेन्टिनाविरुद्धको विश्वकप खेलका क्रममा लुका जिदानको जर्सीमा लेखिएको ‘जिदान’ नाम देखेपछि धेरै समर्थकले उनको पारिवारिक पृष्ठभूमिबारे चासो व्यक्त गरेका थिए ।

किन अल्जेरियाबाट खेल्छन् लुका ?
लुकाले अल्जेरियाको प्रतिनिधित्व गर्न पाउनुको कारण उनका हजुरबा–हजुरआमा अल्जेरियामा जन्मिएका थिए । यद्यपि लुका स्वयम् फ्रान्सको एक्स–अन–प्रोभान्समा जन्मिएका हुन् ।

उनले बाल्यकालको अधिकांश समय स्पेनमा बिताए, जहाँ उनका पिता जिनेदिन जिदानले रियल मड्रिडबाट खेले र पछि प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले ।

अल्जेरियाबाट खेल्ने निर्णयबारे लुका भन्छन्ः
‘हामी सानैदेखि अल्जेरियाली संस्कृतिमा हुर्कियौँ। अल्जेरियाका लागि खेल्नु मेरो लागि सम्मानको विषय हो। अन्तिम निर्णय मेरो आफ्नै थियो, तर मैले परिवार, आमाबुबा, दाजुभाइ र हजुरबासँग पनि सल्लाह गरेको थिएँ । बुबा खुसी हुनुहुन्थ्यो, किनकि यो मेरो चाहना थियो । विश्वकप खेल्नु कुनै पनि बालकको सपना हो ।’

२८ वर्षीय लुकाले सन् २०२५ मा अल्जेरियाको राष्ट्रिय टोली रोजेका थिए । उनले गत अक्टोबरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

अनुहारमा किन मास्क लगाउँछन् ?
विश्वकपमा लुका जिदान अनुहारमा सुरक्षात्मक मास्क लगाएर खेलिरहेका छन् ।

गत अप्रिलमा स्पेनिस क्लब ग्रानाडाबाट खेल्ने क्रममा अल्मेरियाका खेलाडी थालिससँग ठोक्किँदा उनको बङ्गारा र चिउँडोमा गम्भीर चोट लागेको थियो । साथै उनलाई गम्भीर कन्कसन (मस्तिष्कमा असर पर्ने चोट) पनि लागेको थियो ।

चोटका कारण उनी विश्वकप गुमाउन सक्ने आशंका गरिएको थियो । तर समयमै निको भएपछि उनले अल्जेरियाको पहिलो रोजाइका गोलकिपरका रूपमा विश्वकप टोलीमा स्थान बनाए ।

जिनेदिन जिदान को हुन् ?
लुकाका पिता जिनेदिन जिदान विश्व फुटबल इतिहासका सर्वकालीन महान खेलाडीमध्ये एक हुन् ।

सन् २००१ मा उनी त्यतिबेलाको विश्व कीर्तिमानी ७३.५ मिलियन युरोमा युभेन्ट्सबाट रियल मड्रिड पुगेका थिए । उनले २००२ को यूईएफए च्याम्पियन्स लिग फाइनलमा गरेको शानदार भली गोल आज पनि फुटबल इतिहासका उत्कृष्ट गोलमध्ये एक मानिन्छ ।

फ्रान्सलाई सन् १९९८ को विश्वकप र सन् २००० को युरोपियन च्याम्पियनसिप जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यद्यपि उनको करियरको अन्त्य भने विवादास्पद रह्यो । सन् २००६ को विश्वकप फाइनलमा इटालीका मार्को मातेरात्सीलाई हेडबट गरेपछि उनले रातो कार्ड पाएका थिए र त्यसै खेलपछि व्यावसायिक फुटबलबाट बिदा भएका थिए ।

लुका जिदान कुन क्लबबाट खेल्छन् ?
लुका जिदान हाल स्पेनिस क्लब ग्रानाडाबाट खेल्छन् ।

उनले आफ्नो व्यावसायिक करियर रियल मड्रिड कास्टिया (रियल म्याड्रिडको बी टोली) बाट सुरु गरेका थिए । त्यसपछि उनले रासिङ सान्टान्देर, रायो भायेकानो र एइबारबाट खेल्दै अनुभव बटुले ।

सन् २०२४ मा उनी ग्रानाडामा आबद्ध भएका थिए ।

२०२६ विश्वकप सुरु हुनुभन्दा करिब एक महिना अघि उनले आफ्नो २८औँ जन्मदिन मनाएका थिए ।

अर्जेन्टिनाविरुद्धको खेलसँगै उनले विश्वकपमा पहिलो पटक सहभागिता जनाएका हुन् ।