अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत स्विट्जरल्यान्डतर्फ

अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत स्विट्जरल्यान्डतर्फ


काठमाडौं । अमेरिका र इरानबीच हालै भएको समझदारीपत्र (एमओयू) पछि पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यले नयाँ चरणको वार्ताको तयारी तीव्र भएको छ । यसका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफ स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार स्विट्जरल्यान्डमा अमेरिका–इरानबीच सम्भावित आणविक सम्झौताका विषयमा पहिलो चरणको वार्ता हुने तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन् ।

शुक्रबारदेखि सुरु हुने भनिएको वार्ता इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको द्वन्द्वका कारण स्थगित भएको थियो । तर पछिल्लो समय दुवै पक्षबीच युद्धविराम कायम भएपछि वार्तालाई पुनः अघि बढाउने प्रयास तीव्र भएको बताइएको छ ।

सीएनएनका अनुसार अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबीच युद्धविराम पुनः लागू गर्ने सहमति भएको छ । अर्को कूटनीतिक स्रोतका अनुसार उक्त प्रक्रियामा इरानले पनि भूमिका खेलेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची पनि शनिबार स्विट्जरल्यान्ड पुगेर वार्तामा सहभागी हुने तयारीमा रहेको एक्सियोसले जनाएको छ । यद्यपि लेबनानको सुरक्षा अवस्था र युद्धविरामको प्रभावकारिताका आधारमा उनको भ्रमण योजना परिवर्तन हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

मध्यस्थकर्ता राष्ट्रका स्रोतहरूका अनुसार लेबनानमा युद्धविराम स्थायी रूपमा लागू हुनु इरानका लागि अत्यन्त महत्वपूर्ण विषय बनेको छ । युद्धविराम सफल भए मात्र अमेरिका–इरान वार्ता सकारात्मक दिशामा अघि बढ्ने इरानी पक्षको धारणा रहेको जनाइएको छ । यसैबीच कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी पनि स्विट्जरल्यान्ड पुगेका छन् । कतार अमेरिका र इरानबीच सम्पर्क तथा संवाद गराउने प्रमुख मध्यस्थकर्तामध्ये एक मानिन्छ ।

स्विस विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको वार्ता स्थगित भएको पुष्टि गर्दै आवश्यक तयारी भने निरन्तर जारी रहेको जनाएको छ । अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीपत्रमा लेबनानसहितका क्षेत्रमा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने तथा आवश्यक परे आपसी सहमतिमा समय थप गर्न सकिने व्यवस्था गरिएको छ ।

समझदारीपत्रअनुसार अमेरिकाले इरानमाथिका केही समुद्री नाकाबन्दी तथा प्रतिबन्ध हटाउने प्रक्रिया सुरु गर्नेछ भने इरानले होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजलाई निःशुल्क सुरक्षित आवतजावतको व्यवस्था गर्नेछ । यस अवधिमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता पनि सञ्चालन हुने जनाइएको छ । दस्तावेजमा चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने, इरानका रोकिएका सम्पत्ति फुकुवा गर्ने, इरानी तेल निर्यातमा अमेरिकी छुट दिने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि अमेरिकी समर्थनमा कार्यक्रम सञ्चालन गर्ने विषय पनि समावेश गरिएको छ ।

उता कतारले पनि अमेरिका र इरानबीच संवादमार्फत बाँकी विवाद समाधान गर्न वार्ता सुरु हुनुपर्नेमा जोड दिएको छ। स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतारी प्रधानमन्त्री र स्विस विदेशमन्त्रीबीच भएको भेटवार्तामा क्षेत्रीय स्थायित्व र सुरक्षा सुदृढ गर्न कूटनीतिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा सहमति भएको बताइएको छ ।