काठमाडौं । २०२६ को विश्वकपमा लियोनेल मेसी, किलियन एम्बाप्पेजस्ता सुपरस्टारहरुको दबदबा देखिइरहँदा नयाँ पुस्ताका खेलाडीले पनि छाप छोडिरहेका छन् । समूह चरणको प्रतिस्पर्धामा केही युवा खेलाडीले राम्रो सम्भावना देखाए ।
अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको यो प्रतियोगिताका लागि छानिएका २१ वर्ष वा सोभन्दा कम उमेरका ८५ खेलाडीहरूमध्ये धेरैले यस अवसरलाई सदुपयोग गरेका छन् ।
सेनेगलका इब्राहिम एमबाये (१८ वर्ष १४३ दिन) विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बने । उनले जुन १६ मा न्यु जर्सीमा फ्रान्सविरुद्ध १-३ ले पराजित भएको खेलमा ‘लायन्स अफ तेरान्गा’ का लागि अन्तिम समयमा एक सान्त्वना गोल गरेका थिए ।
पाँच दिनपछि लामिन यमल (१८ वर्ष ३४३ दिन) ले एटलान्टामा साउदी अरबविरुद्ध ४-० को जितमा स्पेनका लागि पहिलो गोल गरे । अन्य केही युवा खेलाडीहरूले पनि चुपचाप उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
मेक्सिकोका किशोर आक्रामक मिडफिल्डर गिल्बर्टो मोराको त जन्म पनि भएको थिएन जब २००६ को विश्वकपमा मेसी, रोनाल्डो र लुका मोड्रिच खेलेका थिए ।
मोरा जुन ११ मा यस प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध २-० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा विश्वकपमा आयोजक राष्ट्रको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष २४० दिन) बने।
लामिन यमल विश्वकपका प्रमुख खेलाडी हुनेछन् भन्ने पहिले नै थाहा थियो । तर समूह चरणबाट उदाएका अन्य युवा स्टारहरू को हुन् त ? बीबीसी स्पोर्ट्सले ध्यान खिच्न सफल पाँच खेलाडीहरूलाई नियालेको छ:
अयुब बुआदी (मोरक्को, १८ वर्ष)
जुन १३ मा ब्राजिलविरुद्धको विश्वकप डेब्युमा लिलेका मिडफिल्डर अयुब बुआदी यस शताब्दीमा विश्वकपको एकै खेलमा ५० भन्दा बढी पास (६६) खेल्ने दोस्रो कान्छा खेलाडी बने । इंग्ल्याण्डका पूर्व कप्तान एलन शियरर उनीबाट निकै प्रभावित छन् ।
उनले भने, ‘बुआदी बलसँग निकै शान्त थिए र मैदानको बीचबाट खेललाई नियन्त्रण गर्ने प्रयास गरिरहेका थिए ।’ यी किशोर सन् १९६६ पछि एकै विश्वकपका दुई खेलमा ५० भन्दा बढी पास खेल्ने १८ वर्ष वा सोभन्दा कम उमेरका पहिलो खेलाडी समेत बनेका छन् ।
यान डियोमान्डे (आइभोरी कोस्ट, १९ वर्ष)
पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिभरपुल दुवै यान डियोमान्डेमा रुचि राखिरहेका छन् । यो विश्वकपमा उनको ड्रिब्लिङ कला हेर्दा त्यसको कारण बुझ्न गाह्रो छैन । आरबी लाइपजिगका यी किशोरले इक्वेडरविरुद्धको १-० को जितमा पाँचवटा अवसर सिर्जना गरे भने जर्मनीसँग २-१ ले पराजित भएको खेलमा दुईवटा महत्वपूर्ण पास दिए ।
आइभोरी कोस्ट यसअघिका तीन विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । डियोमान्डेकै कारण उनीहरू पहिलो पटक नकआउट चरणमा पुगेका छन्।
जोहान मान्जाम्बी (स्विट्जरल्याण्ड, २० वर्ष)
जोहान मान्जाम्बी कुनै समय आफ्नो युवा टोलीका लागि गोलकिपर थिए र उनका पहिलो फुटबल आदर्श जर्मनीका म्यानुअल न्युएर थिए। अहिले उनी एक सिर्जनशील मिडफिल्डर हुन् जसलाई अगाडि बढेर गोल गर्न मन पर्छ ।
स्विट्जरल्याण्डले समूह चरणमा गरेको सात गोलमध्ये तीन गोल मान्जाम्बीले गरेका थिए। उनी २० वर्ष २४७ दिनको उमेरमा विश्वकपको इतिहासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर एकै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।
केरिमी अलाजबेगोभिच (बोस्निया-हर्जगोभिना, १८ वर्ष)
१८ वर्ष २७६ दिनको उमेरमा केरिमी अलाजबेगोभिच सन् १९६६ यता विश्वकपमा पेनाल्टी बक्स बाहिरबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।
उनले २०१८ मा क्रोएसियाविरुद्ध गोल गरेका किलियन एम्बाप्पे (१९ वर्ष २०७ दिन) को कीर्तिमान तोडेका हुन् । जुन २४ मा कतारविरुद्धको खेलमा उनको सानदार प्रहारले बोस्नियालाई अग्रता दिलाएको थियो ।
नेस्टोरी इरानकुन्डा (अस्ट्रेलिया, २० वर्ष)
टर्कीविरुद्धको २-० को जितमा पहिलो गोल गर्दै नेस्टोरी इरानकुन्डा (२० वर्ष १२५ दिन) विश्वकपमा अस्ट्रेलियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।
‘यो अकल्पनीय छ र एउटा सपना साकार भएको जस्तो छ,’ इरानकुन्डाले भने । उनी सन् २००६ मा तान्जानियाको शरणार्थी शिविरमा जन्मिएका थिए, जहाँ उनका बुरुन्डियन आमाबुबा गृहयुद्धका कारण भागेर पुगेका थिए ।
वाटफोर्डका फ्यानहरू इरानकुन्डालाई राम्ररी चिन्छन्, जसले २०२५-२६ को च्याम्पियनसिपमा चार गोल गरेका थिए। उनी बढी खेल्ने अवसरका लागि बायर्न म्युनिखबाट वाटफोर्ड गएका थिए।

प्रतिक्रिया