काठमाडौं । वेल्स फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई दिँदै आएको समर्थन सार्वजनिक रूपमा फिर्ता लिने पहिलो राष्ट्र बनेको छ ।
फिफाका प्रतियोगितामा निजी लगानी कम्पनीलाई स्वामित्व हिस्सेदारी बेच्ने योजना इन्फान्टिनोले अन्तिम समयमा फिर्ता लिएपछि उनको नेतृत्वप्रति विश्वास गुम्दै गएको पृष्ठभूमिमा वेल्सले यस्तो निर्णय गरेको हो ।
फुटबल एसोसिएसन अफ वेल्स (एफएडब्ल्यू)ले जारी गरेको विज्ञप्तिमा सन् २०२७–२०३१ कार्यकालका लागि फिफा अध्यक्षमा पुनः उम्मेदवारी दिएका इन्फान्टिनोलाई आफ्नो समर्थन फिर्ता लिएको पुष्टि गरेको छ ।
इन्फान्टिनोको उक्त आर्थिक योजनाले विश्व फुटबलमा व्यापक विरोध निम्त्याएको थियो । युरोपेली फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकपसहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो ।
इन्फान्टिनोले योजना फिर्ता लिएपछि यूईएफए र उत्तर, मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको फुटबल नियामक संस्था कन्काकाफ ले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै फिफाको नेतृत्वशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
एफएडब्ल्यूले आफ्नो विज्ञप्तिमा हालका दिनमा सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, संस्थागत मूल्य, सरोकारवालासँगको समन्वय, सञ्चार तथा विवेकपूर्ण निर्णय क्षमतामा देखिएका कमजोरीका कारण इन्फान्टिनोमाथिको विश्वास समाप्त भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “फुटबलको सर्वोत्तम हितलाई पहिलो प्राथमिकतामा राख्न नसक्नु हामी स्वीकार गर्न नसक्ने असफलता हो ।”

प्रतिक्रिया