रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

त्यस्तै, रसुवाको गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जनाको उपचार भइरहेको छ । उपचाररतमा नुवाकोटको विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवाको गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर खुल्न नसकेका एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगर छन् ।

त्यसैगरी गोरखाको टिमुरे, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

शिक्षण अस्पतालमा उपचाररत अन्य घाइतेमा टिमुरे, गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दियाको जीतपुरका रामप्रसाद थारु, रसुवाको बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ की रिता दोचा रहेका छन् ।