नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा


काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो । अघि नेपालले बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा गुल्शन झाले नटआउट ४४ र रोहितकुमार पौडेलले नटआउट २४ रन बनाए । इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २०, अर्जुन कुमालले १५, र दीपेन्द्रसिंह ऐरीले ५ रनको योगदान गरे।

साउदी अरेबियाका लागि इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ तथा हिशाम शैखले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको साउदी ४९.१ ओभर १९० रन बनाएर अलआउट भएको थियो । साउदीका लागि अब्दुल वहीदले अर्धशतकीय पारी खेले । उनले ८९ बलमा ७७ रन जोडे । मुहम्मद अतिफले भने ३० रन जोडे ।

नेपालका लागि कप्ता सन्दीप लामिछाने र ऐरीले ३–३, ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्शन कुमार झाले १–१ विकेट लिए ।