काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसंघको महासभा सहभागिता औपचारिक भ्रमणमा सीमित नगरी नेपालका ठोस मुद्दा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड दिए ।
उनले विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई विश्व समुदायसामु प्रमाणसहित प्रस्तुत गर्नुपर्ने बताए । भोटेकोसीमा आएको विनाशकारी बाढीजस्ता घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायु परिवर्तनको असरबाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे ।
थापाले प्रधानमन्त्रीलाई आफ्नो सचिवालयको सूचनामा मात्र निर्भर नरही विश्वविद्यालयका अनुसन्धानकर्ता, जलवायु विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गरेर महासभाको तयारी गर्न सुझाव दिए । नेपालभित्र र विदेशमा रहेका दक्ष जनशक्तिलाई समेत परिचालन गर्न सके नेपालको प्रस्तुती थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
उनले यसअघि नेपालका प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र गरेका पहलको समेत अध्ययन गर्नुपर्ने बताए । विगतमा उठाइएको ‘क्लाइमेट जस्टिस’, हिमालदेखि महासागरसम्मका मुद्दा तथा कोप–२८ मा भएका पहललाई निरन्तरता दिँदै आगामी महासभाका लागि थप ठोस रणनीति बनाउनुपर्ने थापाले बताए ।
उनका अनुसार नेपालले जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीको क्षतिपूर्ति माग्ने विषयसँगै अनुदानमा आधारित जलवायु वित्तका लागि पनि अन्तर्राष्ट्रिय समुदायमाझ बलियो लबिङ गर्न आवश्यक छ ।
थापाले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ का रूपमा मात्र प्रस्तुत नगर्न सरकारलाई सचेत गराउँदै त्यसबाट देशका लागि ठोस उपलब्धि हासिल गर्ने गरी तयारी गर्नुपर्ने बताए ।
सही तथ्य, वैज्ञानिक अध्ययन र विज्ञहरूको सुझावका आधारमा नेपालले आफ्ना मुद्दा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको जलवायु संकट र त्यसबाट परेको क्षतिको विषय थप प्रभावकारी ढंगले स्थापित गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया