काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र गोप्य सूचना चुहाउने खेल पुनः दोहोरिएको छ।
अख्तियारकी बहालवाला आयुक्त डा. सुमित्रा अमात्य र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीबीच भएको शङ्कास्पद टेलिफोन संवाद सार्वजनिक भएपछि संवैधानिक निकायको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितताको छानबिन चलिरहेकै बेला आयुक्त अमात्यले अभियुक्त अधिकारीलाई अनुसन्धानको गोप्य सूचना दिएको अडियो बाहिरिएको हो।
आयुक्त अमात्यले अधिकारीसँग टेलिफोन संवाद भएको स्वीकार गरिसकेकी छन्। २०७५ सालमा ७८ लाख घुस काण्डमा तानिएका तत्कालीन आयुक्त राजनारायण पाठक प्रकरणकै झल्को दिने यस घटनापछि अमात्यमाथि महाअभियोग र फौजदारी छानबिनको बहस चर्किएको छ।
कानुनविद्हरूका अनुसार अनुसन्धानको गोपनीयता भङ्ग गरी अभियुक्तलाई सतर्क गराउनु गम्भीर पदीय अपराध हो, जसका कारण उनलाई संविधानको धारा १०१ (२) बमोजिम महाअभियोग लगाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप कडा सजाय हुन सक्छ।

प्रतिक्रिया