‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

व्यासकी उपमेयर भन्छिन्– जनताले सम्झिन लायक काम गर्छौँ


गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको व्यास नगरपालिका तुलनात्मक रूपमा सम्भावना र विकासको बाटोमा हिँडेको पालिकाका रूपमा परिचित छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमतका साथ पालिकामा जित हासिल गरेको थियो । यहाँका १४ मध्ये ११ वटा वडा र प्रमुख, उपप्रमुख दुवै पदमा कांग्रेसले नै जित हात पारेको थियो ।

बजेटको अपर्याप्तताका कारण नयाँ योजना सुरु गर्न नपाएको यहाँकी उपप्रमुख इन्दिरा दरैको भनाइ छ । तर, बजेट नभए पनि पुराना योजनालाई सम्पन्न गर्ने यहाँका जनप्रतिनिधिहरूको अठोट छ । नयाँ–नयाँ योजनाको ललिपपभन्दा जनताले सम्झिन लायक काम गरेर देखाउने उपप्रमुख दरै बताउँछिन् ।

 ‘गाउँको सरकार’को यो अर्को शृंखलामा सहकर्मी कृष्ण उप्रेतीले उनै दरैसँग पालिकाको समग्र विकास, योजना, व्यक्तिगत अनुभव र भावी कार्यदिशाको विषयमा केन्द्रित रहेर कुरा गरेका छन् ।

उपमेयर भएर नगरपालिकामा काम गर्दाको यो १५ महिने अनुभव कस्तो रह्यो ?

पहिलो पटक जनप्रतिनिधि बनेर काम गर्ने अवसर प्राप्त भएको छ । यसलाई सदुपयाग गर्ने कि दुरुपयोग त्यो त आफैँमा भर पर्छ । तर, अहिलेसम्म काम गर्दाको अनुभव राम्रै छ र काम गर्न पनि सहज छ ।

मलाई लाग्छ जनताको गुनासो त कहिल्यै सकिँदैन । तर पनि हाम्रो तहबाट हुने र हाम्रो स्रोतसाधनले भ्याउनेसम्म ती गुनासाहरू सम्बोधन गर्ने प्रयास जारी छ ।

तपाईँ नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित हुनुभयो । कुनै एउटा पार्टीको प्रतिनिधि हुनु र जनताको प्रतिनिधि भएर काम गर्दा कस्तो आत्मबोध हुँदोरहेछ ?

नेता हुँदा पार्टीमा लागेर हिँडिन्थ्यो र पार्टीका लागि मात्र सोचिन्थ्यो । तर, जनप्रतिनिधि भएपछि समग्रमा जनताको हितलाई प्रधान मानेर काम गरिन्छ । यसले हामीलाई जिम्मेवारीबोध मात्र गराएको छैन, हामी जनताका लागि यो

पदमा आएका हौँ भन्ने कुरालाई पनि आत्मबोध गराउँछ । यसले गर्दा छुट्टै अनुभव पनि हुँदो रहेछ । कुनै वर्ग, समुदाय वा धर्म विशेषभन्दा माथि उठेर काम गर्दाको आत्मसन्तुष्टि नै बेग्लै हुने रहेछ ।

यो १५ महिनामा पालिकामा भएका विकासका कामहरूको फेहरिस्त कसरी प्रस्तुत गर्नुहुन्छ ?

यो १५ महिनामा भएका कामहरू सुनाउनुभन्दा पहिले तपाईँलाई हामीले चुनावी अभियानमा भनेका कुरा बताउनुपर्छ । हामीले चुनावी अभियानमै पहिलेका अधुरा कामहरू सम्पन्न गर्ने भनेर जनतासमक्ष प्रतिबद्धता गरेका

थियौँ । त्यसै अनुरुप पुराना कामलाई नै हामीले प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । यसमा खानेपानी, सडक, बाटोघाटो जस्ता पूर्वाधार छन् ।

हामीले गरेका नयाँ काम भन्ने हो भने गरिब, असहाय, बाबुआमाविहीन बालबालिकालाई उचित शिक्षा दिनुपर्छ भन्ने सोचका साथ हामीले समता स्कूल सञ्चालन गरेका छौँ । यसलाई हामीले भएका काममध्ये राम्रो कामको सूचीमा पनि राखेका छौँ । यसमा हामीले आवाससहितको निःशुल्क शिक्षा दिइरहेका छौँ । करिब ४५ जना बालबालिका यसबाट लाभान्वित भएका छन् ।

अहिले हामीले पालिकाको फोहोरमैला व्यवस्थापनका लागि एउटा योजना सुरु गरेका छौँ । त्यो योजना सफल भएको खण्डमा पालिकाभित्र फोहोरमैलाको समस्या सधैँका लागि समाधान हुने अपेक्षा हाम्रो छ । त्यसका लागि दसैँअघि नै जग्गा व्यवस्थापन हुनेछ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुलीजस्ता आधारभूत पूर्वाधारका कामहरू निरन्तर चलिरहेकै छन् ।

व्यास नगरमा पालिका प्रमुख वैकुण्ठ न्यौपाने दोहोरिनुभएको छ र तपाईँकै पार्टीको पनि हुनुहुन्छ । तपाईँले पुराना आयोजनाहरूलाई निरन्तरता दिने कुरा गरिरहँदा कतै यही कारण त होइन ?

होइन, होइन । बजेट अभाव भइरहेको बेला ठुला नयाँ योजना ल्याएर अलपत्र पार्नुभन्दा पहिले नै ल्याएका र सम्पन्न हुन नसकेका योजनालाई सक्ने हाम्रो योजना हो । तर पनि अघि मैले भने जस्तै बाटोघाटो, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली जस्ता आधारभूत पूर्वाधारका नयाँ कामहरू त अहिले पनि चलिरहेकै छन् । यसमा हाम्रो नगरसभाले नै सहमति जनाएको छ ।

पुराना आयोजनालाई नै निरन्तरता दिँदा तपाईँका चुनावी एजेन्डा त छायामा परे होला नि ?

अब त्यो त पक्कै पर्‍यो नि ! तर, मैले चुनावताका असहाय र गरिब बालबालिकालाई विद्यालयसम्म पुर्‍याउँछु भनेर जनतासमक्ष प्रतिबद्धता गरेकी थिएँ र त्यो मेरो प्रमुख एजेन्डा पनि थियो । त्यो पूरा हुँदै छ । म त्यसैमा सन्तुष्ट छु । अरु थुप्रै प्रतिबद्धता थिए । बजेट अभावले गर्दा सुरु हुन सकेका छैनन् । बजेटको व्यवस्था भयो भने ती एजेन्डा पनि पूरा हुन्छ ।

नगरपालिकामा तपाईँ र प्रमुख दुवै एउटै पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । पार्टी एउटै भए पनि प्रमुखसँग केही चित्त दुखाइ छ कि ?

अहिलेसम्म त्यस्तो केही छैन । मेयरज्यूले पनि हरेक काममा सल्लाह सुझाव लिनुहुन्छ । अहिलेसम्म सल्लाह र सहमतिमै पालिकाको हरेक काम भइरहेको छ । अब अधिकारको कुरा गर्ने हो भने मेरो र मेयरज्यूको अधिकार फरक–फरक छ । आ–आफ्नो अधिकार र कार्यक्षेत्रमा रहेर काम गर्ने हो । त्यसमा चित्त दुखाइ गर्ने कुनै कारण नै छैन ।

हामीले उपप्रमुखमै उम्मेदवारी दिएर आएका हौँ । अब उपप्रमुख भएपछि प्रमुखको हैसियत खोजेर चित्त दुखाउने कुरा पनि त भएन नि !

तपाईँ त व्यास नगरपालिकाको न्यायाधीश । न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । पालिकामा न्याय सम्पादनको अवस्था कस्तो छ ? र, मुद्दाका प्रकृतिहरू कस्ता छन् ?

हाम्रो पालिकामा मुद्दा दर्ताको संख्या धेरै नै छ । म आएपछि मात्र करिब १०० वटाभन्दा बढी मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् । जसमा हामीले ३० देखि ४० वटाको संख्यामा मुद्दा किनारा लगाएका छौँ । त्यसमा ३ वटा जति मुद्दालाई हामीले अदालत पनि पठायौँ ।

अब ६० वटा जति मुद्दा किनारा लाग्न बाँकी छ । ती मुद्दा पनि प्रक्रियामै छन् । योसँगै अघिल्लो उपमेयरज्यूको कार्यकालमा बाँकी रहेका मुद्दालाई पनि हामीले किनारा लगायौँ । यहाँ विशेष गरी पति–पत्नीबीचको झगडाका मुद्दा बढी आउने गरेका छन् । यस्ता मुद्दामा मिलापत्र गर्न पनि समस्या । हामी त सकेसम्म उहाँहरू आफैँ मिल्नुहोस् भन्ने चाहन्छौँ । त्यसका लागि तारेख दिँदै पठाउने पनि गरेका छौँ ।

व्यास नगरपालिकामा विशेष गरी पतिबाट हुने अवहेलना, सासू–ससुराबाट हुने अवहेलना, अंशबन्डाजस्ता मुद्दा बढी आउने गरेका छन् भने साँध–सिमाना र छरछिमेकीको झगडाका मुद्दा पनि आउँछन् ।

पालिकामा तपाईँहरूको बहुमत छ । हरेक काममा तपाईँहरूकै सहमति निर्णायक हुन्छ । यस्तो अवस्थामा पालिकामा प्रतिनिधित्व गर्ने अरू जनप्रतिनिधिको आवाज दबिँदैन ?

हाम्रो नगरपालिकामा त्यस्तो छैन । यहाँ त पक्ष र विपक्ष भन्ने नै छैन । विकासको सवालमा हामी सबै एकजुट छाँै । कसैले पालिकाका लागि राम्रो योजना ल्याउनुभयो भने त्यसलाई कसैले हुँदैन भन्दैन । हामी बहुमतभन्दा पनि पालिकाको विकासलाई बढी महत्व दिन्छौँ ।

अबको बाँकी कार्यकाल सकाएर पालिकाको नेतृत्व छोडिरहँदा व्यासका नागरिकले के पाउँछन् ? त्यस्तो केही सोच्नुभएको छ ?

हामीले सोच्न त सोचेका छौँ नि ! हामीलाई पर्याप्त बजेट हुने भए त के–के गरिन्थ्यो के–के ! हाम्रो योजना त धेरै नै छ । तर, त्यसका लागि हामीसँग बजेटको अत्यन्तै अभाव छ । अहिलेको बजेटले हामी नयाँ र ठुला योजनाका विषयमा सोच्न पनि सक्दैनौँ । तर पनि हामीले नेतृत्व छोडिरहँदा जनताले सम्झिने खालका काम गर्नुपर्छ भनेर मैले मेयरज्यूलाई पनि भन्ने गरेको छु ।

जनताले सम्झिने खालका महत्वपूर्ण काममा हामीले फोहोर, मोटर ग्यारेज तथा बजार व्यवस्थापनको विषयलाई लिएका छौँ । हाम्रो कार्यकाल सकिँदासम्म यी कुराहरू पूरा भएको यहाँ नागरिकले देख्नुहुनेछ । अबका वर्षहरूमा बजेटको मात्रा बढ्यो र आन्तरिक स्रोत पनि बढ्यो भने विकासका अरू योजनालाई हामी कार्यान्वयनमा ल्याउनेछौँ ।

गाउँकाे सरकार शृंखलाः

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’