‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

मेयर भन्छन्– पालिका विकासमा हामी एकढिक्का छौँ


कोसी प्रदेशको खोटाङ जिल्लामा रहेको भौगोलिक सुन्दरताले भरिएको पालिका हो– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका । मझुवागढी, रूपाकोट, भुलभुले, मेरुङडाँडा, सिद्धेश्वर गुफा जस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू रहेको यस पालिकालाई पर्यटकीय सम्भावना बोकेको पालिकाका रूपमा चिनिन्छ ।

अहिले यो नगरपालिकाको नेतृत्व गरिरहेका छन्– तीर्थराज भट्टराई । पार्टीगत हिसाबमा नेपाली कांग्रेससँग आस्था राख्ने भए पनि उनी आफूलाई पार्टीको भन्दा पनि जनताको भन्न रुचाउँछन् । दिक्तेलको दिगो विकास गर्ने हो भने यहाँको संस्कृति, परम्परा, पर्यटन स्थल, कृषिलाई एकैसाथ लिएर जानुपर्छ भन्ने धारणा बनाएका उनी आफूले पालिकालाई स्वाबलम्वन बनाउने योजना बुनिरहेको बताउँछन् ।

उनै भट्टराईसँग ‘गाउँको सरकार’को यो शृंखला केन्द्रित छ । पालिकाको समग्र विकासका विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी कृष्ण उप्रेतीले उनीसँग गरेको संवादको सम्पादित अंश आजको अंकमा-

तपाईँको यो १५ महिनाको कार्यकालमा नेताबाट जनप्रतिनिधि बन्दाको अनुभव कस्तो रह्यो ?

मेयर भइसकेपछि धेरै काम गर्न पाइन्छ भन्ने थियो । तर, यो पदमा आइसकेपछि अहिले थाहा हुँदैछ कि– सोचेर वा चाहेर मात्र हुँदैन रहेछ । त्यसका लागि स्रोत, कानुन, ऐन–नियम सबै कुरालाई मध्यनजर गर्नुपर्ने रहेछ ।

काम गर्ने सवालमा त म जनप्रतिनिधि हुनुभन्दा अघि पनि समाजसेवामै थिएँ । अहिले त झन् जिम्मेवार निकायमा पुगेर जनताको सेवा गर्ने अवसर पाएको छु । केही अप्ठ्यारा छन् । तर, जनताका समस्या समाधान गर्ने र पालिकको विकासमा मेरो शतप्रतिशत योगदान रहँदै आएको छ । रहन्छ पनि ।

तपाईँ मेयर भएर आएपछि दिक्तेलमा विकासका के–के काम भए ?

पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा केही देखिने गरी काम भएका छन् । अब पूर्वाधारको कुरा गर्ने हो भने हामीले दिक्तेल–आहाले–खानीडाँडा सडकको काम सुरु गरेका छौँ । यो मधेस जोड्ने अत्यन्तै छोटो बाटो हो । यसलाई पालिकाको गौरवको आयोजनामा पनि समावेश गरिएको छ । यो सडक बनेपछि यहाँबाट गाईघाटको दुरी करिब २ घन्टा छोटिनेछ भने दिक्तेलमा ढुवानी भएर आउने हरेक वस्तुको मूल्य पनि सस्तिनेछ ।

त्यस्तै, पालिकाको वडा–१० र ११ का स्थानीयलाई धेरै समस्या थियो । त्यसको समाधान गर्न हामीले श्रमदानसहित सडकको स्तरोन्नति गर्दै छौँ । यहाँ वर्षको ५ महिना जति सवारीसाधन सञ्चालन नै गर्न सकिँदैनथ्यो । तर, अब बाह्रै महिना सवारी सञ्चालन हुन सक्छ ।

यो सडक निर्माणका लागि यहाँका जनताले श्रमदान गरे भने वैदेशिक रोजगारमा गएका युवाहरूले पनि आर्थिक सहयोग गर्नुभएको छ । विकास टाइम्समार्फत् म उहाँहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।

शिक्षामा पनि हामीले केही सुधारका प्रयास गरेका छौँ । केही समयअघि मात्र हामीले सबै विद्यालयका प्रधानाध्यापकहरूलाई एकैचोटि भंग गरेर उहाँहरूलाई निमित्त प्रअका रूपमा राख्यौँ । हामीले परीक्षामार्फत प्रअहरूको छनोट गर्ने भनेका छौँ । अहिले परीक्षाका लागि फाराम भर्ने काम भइरहेको छ ।

विद्यालयको समग्र क्षेत्रको सुधारका लागि हामीले विद्यालयको नेतृत्वमा योग्यलाई ल्याउन खोजेका हौँ । यसले मात्र पनि विद्यालयका धेरै विषयको सुधार हुने अपेक्षा पालिकाको छ ।

साथै, स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएका छन् । मुख्यगरी अहिले पालिकामा मिर्गौला परीक्षणकोे अभियानलाई हामीले सुरु गरेका छौँ । सबै वडाका नागरिकको घरघरमा पुगेर मिर्गौला परीक्षण गरिरहेका छौँ ।

त्यस्तै, हामी आएपछि पालिकामा नागरिकको आँखा परीक्षण पनि गरायौँ । यो अभियानमार्फत् करिब ५०० नागरिक लाभान्वित भए, जसमा ४७ जनाको आँखाको शल्यक्रिया पनि भयो ।

यहाँ पाठेघरबाट पीडित दिदीबहिनी तथा आमाहरू धेरै हुनुहुन्छ । उहाँहरूका लागि निःशुल्क शल्यक्रिया गर्ने योजना बनाएका छौँ । केही समयपछि त्यो कार्यक्रम लिएर हामी घरदैलोमा जाँदै छौँ । यीबाहेक स्वास्थ्य क्षेत्रका अन्य नियमित कामहरू चलिरहेका छन् ।

तपाईँहरूले नगरपालिकामा किसान कार्डको सुरुआत गर्नुभएको रहेछ । त्यो के हो ? जनता यसबाट कसरी लाभान्वित हुन सक्छन् ?

यो हामीले ग्लोबल आइएमई बैंकसँग गरेको सम्झौता हो । यसबाट कृषकहरूले १२ प्रतिशत ब्याजदरमा २ लाखसम्म ऋण पाउन सक्नुहुन्छ । त्यो १२ प्रतिशत ब्याजदरमा नेपाल सरकारले ५, नगरपालिकाले ५ र किसान आफैँले २ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।

यो कार्यक्रममार्फत् धेरै किसान लाभान्वित हुनुभएको छ । पैसाको अभावमा खेती गर्न नसक्नेहरूका लागि यो सहज माध्यम भएको छ । ऋण लिन पनि किसानलाई समस्या छैन । किसानले आफ्नो जमिनको पुर्जा र नागरिकता देखाएकै भरमा ऋण पाउन सक्नुहुन्छ ।

धेरैजसो पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच त्यति राम्रो तालमेल देखिँदैन । तपाईँको पालिकामा चाहिँ अवस्था कस्तो छ ?

यसलाई म अस्वाभाविक मान्दिनँ । एउटै परिवारका सदस्यबीच त बेमेल हुन्छ भने हामी त फरक सोच, परिवेश र कार्यक्षेत्रबाट भेला भएका हौँ । हामी जनताबाट आएका हौँ भने उहाँहरू एउटा प्रक्रियामार्फत् आउनुभएको हो । त्यसैले म यो विषयलाई स्वाभाविक नै मान्छु ।

मेरो पालिकामा समस्या नै छ भन्ने त होइन । हामी जनप्रतिनिधिको एउटा सोच हुन्छ । हामी कतिपय कुरामा कानुनी कुरामा आँखा चिम्लिएर जान खोज्छौँ । उहाँहरू निमयन गरेर मात्र अघि बढ्ने कुरालाई प्राथमिकतामा राख्नुहुन्छ । यिनै कुराले गर्दा बाहिरबाट हेर्दा बेमेल जस्तो देखिन्छ । तर, हामीले यसलाई उचित नै मानेर अघि बढिरहेका छौँ ।

अहिले हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न । करिब ५ महिनादेखि उक्त पद रिक्त छ । यसका लागि हामीले मन्त्रालयमा पटक–पटक पत्राचार गरेका छौँ । तर, पनि यसमा सुनुवाइ भएको छैन । अहिले निमित्तको भरमा पालिका चलिरहेको छ । हाकिम पठाउने विषय प्रक्रियामा छ भन्ने सुन्नमा आएको छ । अब त्यो प्रक्रिया कति महिना वा वर्षको हुने हो भन्न सकिँदैन ।

दिक्तेलमा कांग्रेस, एमाले, माओवादी जस्ता दलबाट आएका जनप्रतिनिधिहरू हुनुहुन्छ । पालिकाको समग्र विकासका विषयमा जनप्रतिनिधिहरूबीचको सम्बन्धचाहिँ कस्तो छ ?

लोकतन्त्रको सुन्दरता नै यही हो । विभिन्न विचार र आस्था भएकाहरूको साझा थलो हो दिक्तेल । यहाँ कसैको कसैसँग बैमनस्यता छैन । पालिकाको विकासका विषयमा हामीबीच कुनै टकरावको अवस्था अहिलेसम्म आएको छैन । सबैलाई मिलाएर लाने काम हामी सबै जनप्रतिनिधिहरूको कर्तव्य पनि हो । यसो हुन नसकेको अवस्थामा हामी सबै नै असफल भएको मानिन्छ ।

पालिकाको विकासका लागि आएका राम्रा योजनाहरूमा तेरो र मेरो भनिँदैन । कहिलेकाहीँ मैले ल्याएका योजना पनि गलत हुन सक्छन् । त्यसमा साथीहरूले प्रश्न उठाएको अवस्थामा त्यसलाई मैले पनि सच्याउन सक्नुपर्छ । हामीसँग असहमति हुन सक्छ, तर त्यसलाई सहमतिको बाटोमा लाने प्रयास गर्छौँ । पालिकाबाट भएका हरेक निर्णय अहिलेसम्म पूर्ण सहमतिमै भएका छन् ।

अबको बाँकी कार्यकालसम्म पालिकालाई कस्तो बनाउने योजना छ ? तपाईँका नगरबासीलाई सुनाइदिनुस् न !

यहाँको संस्कृति, परम्परा, पर्यटन स्थल आदिको प्रवद्र्धन नभईकन दिक्तेलको विकास हुन सक्दैन भन्ने हाम्रो निचोड छ । साथै, कृषि र पर्यटनलाई सँगसँगै लगेमा मात्र पालिकाको विकास सम्भव छ । होइन भने अवस्था जटिल छ । हाम्रो आन्तरिक स्रोत त्यति छैन । यहाँ उद्योग, कलकारखाना पनि छैनन् । त्यसैले पनि पर्यटन प्रवद्र्धन नै हाम्रो मुख्य एजेन्डा छ भने योसँगै यहाँको संस्कृति र कृषिलाई पनि साथसाथै लाने योजना छ ।

हामीले सुरु गरेका योजनाहरू त चली नै रहन्छन् । तर, दिगो विकासका लागि यो नै मुख्य विषय हो । यसैका लागि मेरो बाँकी कार्यकाल समर्पित रहन्छ ।

गाउँकाे सरकार शृंखलाः

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’