‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

जनप्रतिनिधि आउँछन् जान्छन् भन्ने कर्मचारीको सोचले समस्या : मेयर थारू


सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको टीकापुर नगरपालिका राजनीतिक र ऐेतिहासिक थलोका रूपमा परिचित छ । २०२४ सालमा राजा महेन्द्र स्वास्थ्य लाभका लागि १ महिना यही टीकापुरमा आएर बसेका थिए र त्यस अवधिभर महेन्द्रले यहीँबाटै देशको शासन सञ्चालन गरेका थिए ।

२०५४ सालमा नगरपालिका घोषणा भएको यस ठाउँलाई राजनीतिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । २०७२ साल भदौ ५ गते घटेको ‘टीकापुर घटना’ र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमले यो ठाउँलाई राजनीतिमा निर्णायक थलोका रूपमा पनि चिनाउँदै लगेको छ ।

पञ्चायतकालका भूमिसुधारमन्त्री खडकबहादुर सिंहको पहलमा टीकापुर क्षेत्रको विकास र योजनाको खाका तयार भएको मानिन्छ । उनकै योजनलाई कार्यान्वयन गर्ने जमर्को गर्दै छन्, रामलाल डगौरा थारू । उनी टीकापुर नगरपालिकाका प्रमुख हुन् । आफ्ना विचारलाई स्पष्ट रूपमा राख्न रुचाउने उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा टीकापुर–७ का वडाध्यक्ष थिए ।

वडाध्यक्ष हुँदै पालिका प्रमुख बन्न सफल उनै थारूसँग हामीले टीकापुरको समग्र विकास तथा पालिका सञ्चालनका क्रममा भोगेका अनुभवका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । ‘गाउँको सरकार’का लागि सहकर्मी कृष्ण उप्रेतीले प्रमुख थारूसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः

नेताबाट मेयर बनेपछि यो १५ महिनाको अवधिमा कस्तो अनुभव गर्नुभएको छ ?

म योभन्दा अघिल्लो कार्यकालमा यसै नगरपालिकाको वडा–७ को वडाध्यक्ष थिएँ । त्यसैले मसँग जनप्रतिनिधि हुँदाको पुरानै अनुभव छ । यसमा नेता र जनप्रतिनिधि हुनुमा धेरै अन्तर हुँदोरहेछ । किनकि नेता भनेको आश्वासन बाँड्ने र भाषण मात्र गर्ने प्रवृत्ति भएको एउटा चरित्र हो भने ती नेताले बाँडेको आश्वासन र गरेका भाषण संस्थागत गर्ने तहचाहिँ जनप्रतिनिधि हो ।

अब संस्थागत र कार्यान्वयन गर्ने कुरामा धेरै बाधा अड्चन आउँछन् । त्यसमा कानुनी प्रक्रियादेखि विधिविधानसम्म हुन्छन् । यसमा अलि जटिलता हुन्छ । त्यसैले भन्नु र गर्नुमा धेरै फरक पनि हुँदो रहेछ । म जनप्रतिनिधि भइरहँदा मैले अनुभव गरेको महत्वपूर्ण कुरा यो हो ।

नगरपालिकाले तपाईँको नेतृत्व यो १५ महिनाको अवधिमा के–कस्ता काम भए ? संक्षेपमा बताइदिनुस् न ।

विशेष गरी हामीले यसबीचमा पूर्ववत् कार्यक्रम र योजनालाई नै प्राथमिकतामा राखेर अघि बढेका छाैँ । अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले सुरु गरेका राम्रा कामले पक्कै पनि निरन्तरता पाउनुपर्छ भन्ने हाम्रो सोच हो ।

त्यसबाहेक भूमिहीन सुकुमबासीको व्यवस्थापन, तटीय क्षेत्रमा तटबन्धन गर्ने विषय, पर्या–पर्यटनको विकास तथा यहाँको स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा थोरबहुत काम भइरहेको छ ।

हरेक विद्यालयमा दरबन्दी मिलानको काम भइरहेको छ भने यहाँका पार्क, चौतारीहरूमा असरल्ल पारेर राखिएका निर्माण सामग्रीहरू हटाएर त्यसको सौन्दर्यलाई फर्काउने काम पनि भएको छ ।

टीकापुर मृत सहरका रूपमा थियो, अहिले हामी त्यसलाई ब्युँताउने प्रयासमा छौँ । उज्यालो टीकापुर कार्यक्रमलाई हामीले अहिले व्यापक बनाइरहेका छौँ । गाउँ–गाउँमा अहिले सौन्दर्यकरणको काम चलिरहेको छ । टीकापुरको विकासका लागि खडकबहादुर सिंहले जसरी योजना बनाउनुभएको थियो, त्यसलाई संस्थागत गर्ने हाम्रो प्रयास रहनेछ ।

धेरैजसो पालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको बेमेलका घटना बाहिर आउने गरेका छन् । यसो हुनुको मुख्य कारण के रहेछ ? तपाईँको पालिकाको अवस्थाचाहिँ के छ ?

हामी जनप्रतिनिधिहरू जनताको आकांक्षालाई संस्थागत गर्दै आफ्नो पालिकाको विकास गर्नुपर्छ भन्ने सोचमा हुन्छौँ र त्यसलाई कानुनी पाटोबाट सहज बनाउने काम प्रमुख प्रशासकीय अधिकृतहरूको हो । तर, के हुँदोरहेछ भने कर्मचारी र जनप्रतिनिधिको ‘इन्टेन्सन’ नै फरक हुँदोरहेछ । त्यसमा एकरूपता ल्याउने प्रयास गर्दा समस्या देखिने हुन्छ ।

उहाँहरूको बुझाइ पनि फरक छ । ‘हामी त सरकारी कर्मचारी हौँ र हाम्रो स्थायित्व छ, जनप्रतिनिधिहरू केही समयका लागि आएका हुन्’ भन्ने उहाँहरूको सोच हुन्छ । हामीचाहिँ आफ्नो ठाउँलाई बनाउनुपर्छ र इतिहास कायम गर्नुपर्छ भन्नेतिर लागेका हुन्छौँ ।

तर, कर्मचारीहरू सहयोग गरेको जस्तो पनि गर्ने र असहयोगको वातावरण पनि सिर्जना गरेको जस्तो हामीले पाएका छौँ ।

तपाईँको पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ कि रिक्त छ ?

अहिले त हुनुहुन्छ, तर रिक्त हुने अवस्था छ । उहाँ सरुवाको प्रयासमा हुनुहुन्छ । उहाँले सरुवा किन मागिराख्नुभएको छ भन्ने विषयमा मलाई थाहा छैन । केही दिनअघि हामी दुईबीच कुरा हुँदा उहाँले

२–३ महिनाअघिदेखि नै सरुवाको माग गरेको, तर आफ्नो इच्छाअनुसार पाएको छैन भन्नुहुन्थ्यो । रोजेको ठाउँ पाएको अवस्थामा उहाँ सरुवा भएर जानुहुन्छ ।

तपाईँ नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ भने उपमेयर माओवादी तथा वडाहरूमा एमाले तथा कांग्रेसको पनि सहभागिता छ । विभिन्न विचार र फरक आस्था राख्नेहरूको जमातमा रहेर पालिकाको काम गर्न कत्तिको सहज हुँदोरहेछ ? विवाद र असहमति कत्तिको हुन्छ ?

टीकापुरको वास्तविकता र अन्तरविरोधलाई पहिचान गरेर गयौँ भने कुनै समस्या नै हुँदैन । टीकापुरको विकासको सवालमा हामी सबै एकजुट छौँ । कतिपय राजनीतिक कुराहरू आउने विषयलाई म सामान्य रूपमा लिन्छु ।

हामीबीच एकअर्काको अस्तित्व र विचारलाई सम्मान गर्ने र अघि बढ्ने कुरामा सहमति छ । त्यसैअनुसार हामीले सहमतिमै पालिकाको काम गरिरहेका छौँ ।

पालिकाको काम गर्दै जाँदा देखिने गरी हुने र प्रभावकारी कामको विषयमा लाग्नुपर्छ भनेर हामीबीच बहस, वादविवाद चल्छ । तर, त्यस्तो कुनै ठुलो विवाद र समस्याको विषय अहिलेसम्म आएको छैन ।

धेरैजसो पालिकामा मेयर उपमेयरबीच खासै सुमधुर समबन्ध भएको देखिँदैन । तपाईँको चाहिँ उपमेयरसँगको सम्बन्ध कस्तो छ ?

यहाँका उपमेयर खडकबहादुर शाहज्यूसँगको सम्बन्ध त्यस्तो घनिष्ठ पनि छैन र नराम्रो पनि छैन । हामीबीच कार्यगत एकता र समझदारीको सम्बन्ध छ । कुनै समस्या अहिलेसम्म देखिएको छैन ।

पालिकाहरूमा प्रमुख र उपप्रमुखबीच किन समस्या देखिँदोरहेछ ? र, उपमेयरहरूको चाहना के हुँदोरहेछ ? केही थाहा पाउनुभयो ?

हामी पालिका प्रमुखहरूको कहिलेकाहीँ भेटघाट हुँदा यो विषयमा पनि सामान्य छलफल हुन्छ । केही मेयर सा’बहरू आ–आफ्नो दुखेसो पनि राख्नुहुन्छ । विशेष गरी उपमेयरहरू मेयरसँग अलि टकराव गर्न खोज्ने देखिएको छ । चाहे त्यो आफ्नो पार्टीकै मेयर किन नहोस् । यस्ता कुराहरू अरू मेयरहरूबाट सुनिन्छ ।

अब उपमेयरज्यूहरू मेयरकै भूमिका चाहनुहुन्छ भने चुनावका बेला पनि मेयरमै लडेर आउनुपर्थ्यो नि त ! चुनाव उपप्रमुखमा लड्ने अनि अधिकार मेयरको माग्ने भन्ने त हुँदैन नि ! त्यही पनि मेयर र उपमेयरको कामका विषयमा स्थानीय सरकार सञ्चालन ऐनले तोकिदिएकै छ त । विवाद किन गर्नु ?

तर, यसमा अर्को पाटो पनि हुन सक्छ । अहिलेका उपप्रमुखहरूको लक्ष्य आगामी निर्वाचनमा मेयर बन्ने होला । त्यसको तयारीका लागि उहाँहरू अलि बढी क्रियाशील हुनुभएको हो कि ! यस हिसाबमा यो पनि राम्रै विषय हो । तर, आफ्नो अधिकार र मर्यादामा उहाँहरू बस्नुभयो भने केही समस्या हुँदैन । यो कुरा उहाँहरूले बिर्सनु भएन ।

अबको साढे ३ वर्षभित्र तपाईंको नेतृत्वमा टीकापुरका जनताले के पाउँछन् ? योजना केही छ ?

अबको बाँकी अवधिसम्म टीकापुरका प्रमुख समस्याहरूलाई समाधान गर्ने हाम्रो लक्ष्य छ । यहाँ ४–५ वटा मुख्य समस्या छन् । त्यसका लागि हामी कटिबद्ध छौँ र त्यसका लागि बजेटको पनि व्यवस्था गरिएको छ ।

यसमा मुख्य भनेको भूमिसम्बन्धी समस्या हो । यहाँ धेरैको संख्यामा सुकुमबासी छन् । भू–उपयोगी नियमअनुसार हामीले डाटा संकलन गर्दा करिब १० हजारको संख्यामा अव्यवस्थित बसोबास छ भने तथ्यांकअनुसार त्यसमा ३ हजार २०० जना वास्तविक सुकुमबासी छन् ।

पर्या–पर्यटनको सम्भावना रहेको टीकापुरलाई पर्यटक आकर्षित गर्ने अर्को योजना छ । त्यसका लागि हामीले यहाँ रहेको टीकापुर पार्कका लागि बजेटको व्यवस्थापन गरेका छौँ । साथै, टीकापुर एकदमै उर्बर क्षेत्र हो । त्यसैले हामीले कृषिलाई प्राथमिकता दिँदै पर्या–पर्यटनसँगै कृषिलाई जोडेर समुदायमा आधारित कृषि तथा पर्यटन परियोजनलाई अघि बढाउँदै छौँ ।

त्यस्तै, टीकापुर आफैँमा एउटा शैक्षिक नगरी हो । त्यसैले यसलाई अलि व्यवस्थित बनाउने हाम्रो गुरुयोजना पनि छ ।

गाउँकाे सरकार शृंखलाः

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’