‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

स्थापनायता ‘हाकिम’बिनाको औरहीका मेयर के भन्छन् ?


औरही नगरपालिका मधेस प्रदेशको महोत्तरी जिल्लामा रहेका १५ वटा स्थानीय तहमध्ये एक हो । महोत्तरीको मध्य भागमा रहेको यस पालिकालाई विकासको दृष्टिकोणबाट हेर्ने हो भने भर्खरै बामे सर्दै गरेको देखिन्छ ।

मुख्य गरी लोकतान्त्रिक समाजवार्दी पार्टीको पकड क्षेत्रका रूपमा रहेको यहाँ गत स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखसहित ९ वटा वडामध्ये ५ वटामा यसै पार्टीले जित हात पारेको थियो । पार्टीगत हिसाबमा यहाँ नेपाली कांग्रेस र लोसपाको मात्र उपस्थिति छ ।

पिछडिएका समुदायको बाहुल्य रहेको यहाँ पर्याप्त बजेटको अभावका कारण सोचेअनुरूपको काम गर्न नसकिएको पालिका प्रमुख प्रदीपकुमार खड्का बताउँछन् । बिडम्बनाको विषय के छ भने, २०७३ सालमा स्थापना भएको यस नगरपालिकाले अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।

२०७४ सालमा प्रमुखमा निर्वाचित भएका सुनिलकुमार यादवले ५ वर्षसम्म निमित्तका भरमा पालिका सञ्चालन गरे । अहिले दोस्रो कार्यकालका लागि निर्वाचित खड्काले पनि विगत १५ महिनादेखि निमित्तकै भरमा पालिका चलाइरहेका छन् ।

औरहीका प्रमुख प्रदीपकुमार खड्कासँग पालिकाका यस्तै समस्या, भए/गरेका काम र अनुभवमा केन्द्रित रहेर ‘गाउँको सरकार’को यो नयाँ अंकका लागि हामीले कुराकानी गरेका छौँ । सहकर्मी कृष्ण उप्रेतीले प्रमुख खड्कासँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले पालिकाको बागडोर सम्हालेको पनि १५ महिना बितिसकेको छ । यसबीचमा जनप्रतिनिधि भएर काम गर्दा कस्तो अनुभव पाउनुभयो ?

कार्यकालको सुरुआती चरणमा त हामीलाई समस्या नै भयो । हामी निर्वाचित ८० प्रतिशत जनप्रतिनिधि नयाँ थियौँ । यसले गर्दा अनुभवको कमीका कारण काम गर्ने क्रममा केही समस्या भए । तर, अहिले कुनै समस्या छैन । सहज रूपमा काम भइरहेको छ ।

मैले यसबीचमा गरेको अर्को अनुभव के हो भने हामी पार्टीको कार्यकर्ताबाट जनप्रतिनिधि भएका हौँ । पहिला हामी अरूलाई दोष मात्र दिएर हिँड्थ्यौँ । यस्तो भए यस्तो हुन्थ्यो । यो गलत, त्यो गलत भनेर औँला उठाउने मात्र काम हुन्थ्यो । अहिले त्यो ठाउँमा आफैँ पुग्दा यथार्थ बुझिँदै छ ।

सबै प्रक्रिया पुर्‍याएर काम गर्न निकै चुनौती हुँदोरहेछ । कतिपय कुरामा हामी कानुनले बाँधिएका हुँदारहेछौँ भने कतिपयमा हामीलाई स्रोतसाधनले नै बाँधेको हुन्छ । तर, सेवाग्राहीलाई ती प्रक्रियाका बारेमा थाहा हुँदैन । हाम्रो काम तुरुन्त हुनुपर्‍यो भन्नुहुन्छ । अब उहाँहरूलाई बुझाउन नसक्दा पनि कहिलेकाहीँ समस्या भोगिरहेका हुन्छौँ ।

यो १५ महिनाको बीचमा पालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि जस्ता क्षेत्रमा के–कस्ता काम भए ? भन्नैपर्ने त्यस्ता केही छन् ?

हामीले गएको आर्थिक वर्षमा कृषि, स्वाथ्य र शिक्षामा केन्द्रित भएर काम गर्‍यौँ । ती क्षेत्रको सुधारका लागि हामीले सकेको जति गर्‍यौँ पनि । यस आर्थिक वर्षमा पनि अघिल्लो वर्ष सुरु भएका कामलाई निरन्तरता दिने योजना बनाएका छौँ ।

यसमा पनि कृषिमा हामीले धेरै नै काम गर्‍यौँ र अझै गर्न बाँकी छ । औरही नगरपालिका सिँचाइको क्षेत्रमा आत्मनिर्भर हुँदै छ । मलाई लाग्छ यसमा औरही नेपालमै पहिलो पालिका पनि बन्नेछ । यहाँ खोलानाला त्यति छैनन् । भएका पनि सुकिसकेको अवस्थामा छन् ।

हामीले ट्युबवेलको प्रयोग गरेर यहाँको सबै जमिन सिञ्चित गर्दै छौँ । गत वर्ष हामीले यसैका लागि २५० वटा ट्युबवेल र ३०० थान मोटर बाँड्यौँ । अहिले हाम्रो १, २, ७, ८ र ९ नम्बर वडामा सिँचाइको कुनै समस्या छैन । पानी नपर्दा पनि ती क्षेत्रमा बाली लगाउन कुनै समस्या पर्दैन अहिले । त्यसैले गर्दा अहिले धान रोप्न हामीलाई समस्या पनि भएन ।

स्वास्थ्यको क्षेत्रमा पनि यहाँ धेरै काम भएका छन् । त्यसमध्ये गर्भवती महिलाका लागि विशेष सेवा प्रदान गर्दै आएका छौँ । अहिले हरेक महिना २५ जना गर्भवती महिलाहरूले पालिकाकै स्वास्थ्य संस्थामा बच्चालाई जन्म दिनुभएको छ । त्यस्तै, पालिकामा रहेका अतिविपन्न परिवारका लागि हामी आफैँले निःशुल्क रूपमा स्वास्थ्य बिमा गरिदिएका छौँ । उनीहरूका लागि आवश्यक औषधि पनि पालिकाबाटै दिने तयारी छ ।

शिक्षामा पनि केही काम भएका छन् । अहिले हामीले कक्षा १ देखि ५ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ हुने वातावरण मिलाएका छौँ । त्यसका लागि केही समस्या छ, तर त्यसलाई कार्यान्वयन गराउन हामी पूर्ण रूपमा लागेका छौँ ।

हामीकहाँ दलितमा पनि अतिदलित मानिएको मुसहर बस्ती धरै छन् । त्यो वर्गका बालबालिकालाई विद्यालयसम्म ल्याउने र विद्यालयबाट घरमा गएर कमसेकम २ घन्टा ती बालबालिका पढाइ दिन १३ जना शिक्षक पनि भर्ना गरेका छौँ । शिक्षाबाट नगरमा कोही पनि वञ्चित नहोस् भनेर हामीले यसलाई पालिकाको महत्वपूर्ण कार्यक्रमका रूपमै अघि बढाएका छौँ ।

पालिकाहरूमा प्रमुख र प्रशासकीय अधिकृतबीच त्यति राम्रो सम्बन्ध हुँदैन भन्ने सुनिन्छ । यो साँचो हो ? हो भने यसो हुनुको मुख्य कारण के होला ?

नेपालका ८० प्रतिशतभन्दा बढी पालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले आफ्नो कार्यकाल सुरु गर्दै गर्दा सबै क्षेत्रसँग बसेर अन्तर्क्रिया गरेर पालिकाको भविष्य रेखा कोर्ने प्रयास गरेनन् । प्रमुख आफ्नो सुरमा उपप्रमुख आफ्नै र कर्मचारी पनि एक्लै हिँडेको देखिन्छ ।

अर्को कुरा पालिकाले नेतृत्व पनि उचित किसिमको पाउन सक्नुपर्छ । यहाँ त मेयरले भनेको सबै कुरामा कर्मचारीले हँमा हँ मिलाइदिनुपर्छ । यदि यसो नभएमा टकराव सुरु हुन्छ । मेयरका सबै कुरामा कर्मचारीले हँमा हँ मिलाउने विषय त असम्भव कुरा हो । किनकि कर्मचारीहरू त कानुनको परिधिमा बाँधिएका हुन्छन् ।

जहाँका जनप्रतिनिधिले यो विषय बुझेका छन्, त्यहाँ कुनै समस्या हुँदैन । जसले बुझ्दैन र बुझ्ने कोसिस गर्दैन, त्यहाँ समस्या देखिन्छ । मैले यो राम्रोसँग बुझेको छु । त्यसैले मेरो पालिकामा अहिलेसम्म कुनै समस्या देखिएको छैन ।

तपाईँको पालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् कि छैनन् ?

अहिले हाम्रो पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ । नेपाल सरकारले नगरपालिकाहरूमा उपसचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउनुपर्ने हो । तर, सरकरले पनि यो काम गर्न सकेको छैन ।

पालिका बनेदेखि नै औरहीले उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन । अघिल्लो कार्यकालमा पनि निमित्तकै भरमा थियो । अहिले म आएपछि पनि निमित्तकै भरमा चलिरहेको छ । ६ वर्षदेखि यो औरही नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिनै चलिरहेको छ ।

यसका लागि अघिल्ला मेयरज्यू र मैले धेरै पटक पहल गर्‍यौँ । अहिलेसम्म हाम्रो सुनुवाइ भएन । अब यो असोजभित्र सबै पालिकामा पठाउने कुरा छ । अब हेरौँ के हुन्छ ।

अर्को समस्या के पनि छ भने, फ्रेस कर्मचारी नगरपालिकामा जान चाहँदैनन् । यदि गए भए पनि काम नगर्ने बिदामै बस्ने गर्छन् । यसले पनि समस्या भएको हो ।

निमित्तको भरमा पालिका सञ्चालन गर्दा समस्या भएको छैन ?

किन नहुनु, भएको छ नि ! अब अहिलेका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रशासन शाखाको हुनुहुन्छ । अब उहाँको फाँटको कामचाहिँ कसले गर्दिने ? उहाँले निमित्तको जिम्मेवारी पाए पनि उहाँको आफ्नो मुख्य जिम्मेवारी त छँदै छ । उहाँले आफ्नो काम पनि हेर्नैपर्‍यो ।

एक जनाले २/२ वटा भूमिकामा रहेर काम गर्दा कति गाह्रो हुन्छ भन्ने कुरा सरकारले बुझेको छैन । यसले गर्दा त्रुटि पनि देखा पर्नसक्छ । यसको जिम्मा कसले लिने ?

कतिपय पालिकामा प्रमुख र उपप्रमुखबीच पानी बाराबारकै अवस्था देखिन्छ । तपाईँको पालिकामा के छ अवस्था ?

मकहाँ त्यस्तो कुनै समस्या छैन । पहिलो कुरा के हो भने सबै जनाले ‘मँ को हुँ ?’ भन्ने बुझ्न जरुरी छ । मैले त उपमेयरज्यूलाई पालिकाको सम्पूर्ण जिम्मेवारी तपाईँ नै लिनुस् भनेर पनि भनेको छु । संविधानले दिएको आ–आफ्नो अधिकारलाई सुरक्षित राखेर पालिकाको नेतृत्व जसले लिए पनि हुन्छ भन्ने मेरो लाइन हो ।

मैले सुरुमै भनिसकेँ । जनप्रतिनिधिहरूबीच सुरुमै पालिकाको समग्र विषयमा अन्तरक्रिया गर्ने र एक–अर्काको अस्तित्व स्वीकार्ने हो भने कुनै समस्या नै आउँदैन । मेरो यो १५ महिनाको कार्यकालमा कुनै समस्या देखिएको छैन ।

‘एउटै पार्टीको भएर समस्या नभएको होला’ भन्नेहरू पनि होलान् । तर, त्यसो होइन । यहाँ ४ वटा वडामा कांग्रेसका वडाध्यक्षहरू हुनुहुन्छ । मैले एउटा अठोट लिएको छु कि मेरो कार्यकालभरि म पक्ष र विपक्ष भनेर हिँड्दिनँ र हिँड्न पनि दिन्नँ ।

तपाईँको बाँकी साढे ३ वर्षको कार्यकालमा औरहीका जनताले के पाउँछन् ? पालिकाको मुहार फेर्न तपाईँको योजना के छ ?

यहाँका जनताले अबको साढे ३ वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आमूल परिवर्तन पाउने छन् । अहिले भएका कामकै आधारमा पालिकाबासी सन्तुष्ट हुनुहुन्छ । यही अवस्थामा काम हुँदै जाने हो भने हामीले धेरै राहत पाउँछौँ’ भनेर यहाँका जनताले पनि भन्ने गरेका छन् ।

मेरो कार्यकालमा यहाँका किसान आत्मनिर्भर बन्नेछन् । अबको २ वर्षभित्र यहाँको १ टुक्रा जमिन पनि बाँझो राख्ने छैनौँ । सबै जमिनमा सिँचाइको सुविधा पुर्‍याउनेछौँ । सिँचाइका लागि संघ र प्रदेशसँग योजना माग्ने काम यो पालिकाले गर्दैन । आफैँमा आत्मनिर्भर हुन्छ । त्यस्तै, अबको १ वर्षभित्र यहाँका हरेक बालबालिका विद्यालय जाने अवस्थामा हुनेछन् । त्यो वातावरण हामी बनाउँछौँ ।

स्वास्थ्यको क्षेत्रमा पनि औरहीले ठुलै फड्को मार्नेछ । मेरो अवधिभर कहिल्यै पनि यहाँका जनताले औषधि पाइएन भन्ने अवस्था आउन नदिने मेरो अठोट छ । अहिले नै मैले ४ पटक गरी ६८ लाख रुपैयाँको औषधि इ–बिडिङमार्फत् किनिसकेको छु । यसका लागि सरकारको बजेट त जम्मा २० लाखको थियो ।

त्यस्तै, यहाँका दलित परिवारहरूका लागि मेरो कार्यकालभर ३०० पक्की घर बनाउने योजना बनाएको छु । करिब ४० वटा जति घर त यसै वर्ष तयार हुन्छन् ।

पूर्वाधारको क्षेत्रमा पनि व्यापक काम भएका छन् । ६० वर्षदेखि स्थानीयकै विवादका कारण बन्न नसकेको सडक हामीले बनाउन सफल भयौँ । अबको बाँकी समयमा यहाँका अधिकांश सडक ढलाइ वा कालोपत्र भइसक्नेछन् ।

अन्तमा तपाईँको भन्नु केही छ ?

मैले भन्नैपर्ने के छ भने एउटा पालिका प्रमुख र उसलाई साथ दिने अरू जनप्रतिनिधिहरूले दृढ अठोट लिने हो भने आफ्नो पालिकालाई स्वर्ग बनाउन सकिँदोरहेछ र सकिन्छ पनि । सबै जनप्रतिनिधिलाई यस विषयमा मनन गर्न म अनुरोध गर्छु ।

गाउँकाे सरकार शृंखलाः

१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’