बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिका भौगोलिकसँगै राजनीतिक हिसाबमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । प्रदेशको सबैजसो प्रशासनिक काम काज हुने थलो भएकाले पनि यसलाई विशेष मानिन्छ ।
देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगम स्थल हेटौँडा देशको तेस्रो ठुलो औद्यौगिक नगर हो भने यसले भारतसँगको प्रमुख नाका वीरगन्जलाई राजधानीसँग जोड्ने काम पनि गरेको छ ।
विकासोन्मुख सहरका रूपमा आफूलाई अघि बढाउँदै गएको हेटौँडा सम्भावनाले भरिएको ठाउँका रूपमा पनि चिनिन्छ । यसै पालिकाको नेतृत्व गरेका डोरमणि पौडेल प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल भएका थिए । अहिले यसको बागडोर मीनाकुमारी लामाको हातमा छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख बनेकी उनी २०७९ सालमा प्रमुख बन्न सफल भइन् । जनतासँग भिजेका कारण दोस्रो कार्यकालमा पनि नगरबासीले आफूलाई रुचाएको बताउने लामा हेटौँडालाई नेपालीले सफा, सुन्दर, हरित तथा नमुना सहरका रूपमा लिनुपर्ने बताउँछिन् ।
‘गाउँको सरकार’को यो अर्को अंकमा उनै लामासँग समग्र हेटौँडाको विषयमा केन्द्रित रहेर कुराकानी गर्ने प्रयास गरेका छौँ । प्रस्तुत छ सहकर्मी कृष्ण उप्रेतीले लामासँग लिएको अन्तर्वार्ताको सम्पादित अंश :
तपाईँ अघिल्लो कार्यकालमा हेटौँडाको उपप्रमुख हुनुहुन्थ्यो । अहिले प्रमुख हुनुहुन्छ । त्यहाँका जनताले मीनाकुमारी लामालाई नै किन पत्याए होला ?
पहिलो कार्यकालमा हामीले व्यवस्था परिवर्तन र सामाजिक रूपान्तरणका लागि काम गर्यौँ । जनतालाई सहज सेवा दिनुपर्छ र हामी जनताका लागि आएका हौँ भन्ने कुरामा बढी केन्द्रित भयौँ र त्यसैअनुसार काम पनि गर्यौँ ।
समग्र पालिकाको विकास गर्ने र नगरबासीलाई सेवा दिने भन्ने जनादेशका साथ हामी त्यति बेला आएका थियौँ । जनप्रतिनिधिको नयाँ–नयाँ अनुभव थियो । त्यही पनि जनाताको आवश्यकता र समस्यालाई सकेसम्म समाधान गर्ने प्रयास पनि गर्यौँ ।
आफ्नो अधिकार क्षेत्रमा रहेर उहाँहरूको विचारलाई सम्बोधन गर्ने भरपुर प्रयास गरेका थियौँ । सायद यहाँका जनताले त्यसलाई रुचाएका कारणले गर्दा नै मलाई दास्रो कार्यकालका लागि मेयरमा जिताए जस्तो लाग्छ ।
मलाई मेयरमा जिताउनु मात्र ठुलो कुरा होइन, उहाँहरूको चाहनालाई मैले बुझेर काम गर्न सकेँ भनेँ मात्र म मेयर हुनुको सार्थकता हुन्छ जस्तो मलाई लाग्छ ।
स्थानीय तहहरूमा प्रमुखले उपप्रमुखलाई हेप्छन् भन्ने एउटा भाष्य तयार भएको छ । तपाईँ त उपप्रमुख हुँदै प्रमुख बन्नुभएको । त्यति बेला तपाईँ कत्तिको हेपाइमा पर्नुभयो र अहिले हेटौँडाका उपप्रमुखलाई तपाईँसँग काम गर्न कत्तिको सहज छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा प्रमुख, उपप्रमुख सबैको काम कर्तव्य र अधिकारको विषयमा स्पष्ट व्याख्या गरिएको छ । त्यसलाई राम्रोसँग हेर्ने हो भने प्रमुखभन्दा उपप्रमुखलाई धेरै अधिकार र जिम्मेवारी दिइएको छ । यही हिसाबमा हेर्ने हो र आ–आफ्नो तहमा बसेर काम गर्ने हो भने कहिल्यै पनि विवाद आउँदैन ।
मैले ५ वर्षसम्म उपप्रमुख भएर काम गर्दा कहिल्यै पनि विवाद निस्किएन । सायद अघिल्लो कार्यकालमा देशभर विवादरहित रूपमा आफ्नो कार्यकाल सक्ने उपमेयरमा म पनि पर्छु ।
अहिले म प्रमुख भएको पनि १५ महिना भयो । यसबीचमा पनि हामी प्रमुख–उपप्रमुख दुवै जनाले आ–आफ्नो अधिकारमा रहेर आ–आफ्नो काम गरिरहेका छौँ । अहिलेको उपप्रमुख पनि वडाध्यक्ष हुँदै आउनुभएको हो । उहाँलाई पनि जनप्रतिनिधिको राम्रो अनुभव छ । त्यसैले अहिलेसम्म हामीबीच कुनै समस्या छैन । हुनेवाला पनि छैन ।
यहाँ फेरि विवादलाई झगडाकै रूपमा प्रस्तुत गर्ने परम्परा छ । विकासका एजेन्डामा विषयमा हामीबीच पनि विवाद हुन्छन् । तर, हामी विवादबाट निष्कर्षमा पुग्छौँ । हेटौँडा बनाउने कुरामा हामी एकजुट छौँ ।
हेटौँडामा अहिलेसम्म भएका कामलाई तपाईँ कसरी प्रस्तुत गर्नुहुन्छ ?
यहाँ भएका कामहरूको सूची त लामै छ । त्यसमा पनि देखिने र नदेखिने कामहरू छन् । सामाजिक रूपान्तरणका काम बाहिरबाट देखिँदैनन् । तर, त्यसमा ठुलै परिवर्तन भएको छ । बाहिरबाट हेर्दा यसमा कसैको ध्यान जाँदैन ।
देखिने भनेको पूर्वाधार मात्र हो । हेटौँडाका अहिले सबै ठाउँमा सडक सञ्जाल पुगिसकेको छ । मुख्य सडकहरूमा वृक्षरोपण तथा सौन्दर्यकरण भएको छ भने सडक बत्तीको पनि व्यवस्था गरेका छौँ ।
त्यस्तै, बसपार्क बनाउने काम पनि सुरु भइसकेको छ । अबको ९ महिनामा त्यो पनि सम्पन्न हुँदै छ । तरकारी थोक बजारको निर्माण पनि धमाधम भइरहेको छ ।
खानेपानी, कृषि, शिक्षा जस्ता क्षेत्रमा हामीले गरेको लगानीको प्रतिफल अहिले देखिँदै छ । बिघौँ बिघा क्षेत्रफलमा भएको मेवा खेतीले अहिले आफ्नो बजार लिइसकेको छ । यहाँका जनतालाई १० हजार लिटरसम्म निःशुल्क पानी खुवाइरहेका छौँ ।
राजनीतिक रूपमा हेर्ने हो भने हेटौँडामा तपाईंको पार्टीबाट तपाईँसहित १ जना वडाध्यक्ष मात्र हुनुहुन्छ । पालिकाको योजना र बजेट जस्ता विषयमा निर्णय गर्ने सवालमा तपाईँलाई कत्तिको गाह्रो छ ?
म कार्यपालिकामा १ जना वडाध्यक्ष मात्र लिएर आएको हुँ । यहाँ एमालेको बहुमत छ । तर, मैले कहिल्यै पनि एक्लो भएको महसुस गरेकी छैन र अरूलाई पनि त्यस्तो महसुस गर्न दिएको छैन । यसकारण पनि हामी सफल भएका छौँ ।
मैले के बुझेको छु भने चुनावपछि हामीले राजनीतिक थलो बिर्सिसकेका छौँ । अब हमी कर्मथलोमा काम गर्न आएका छाँै । जनतालाई त्यसको अनुभूति दिलाउनुपर्छ । त्यसैमा म लागेको छु र अरू जनप्रतिनिधि पनि त्यसैमा लाग्नुभएको छ ।
स्थानीय सरकारमा अल्पमत र बहुमतको अवधारणा पनि छैन । हेटौँडा हामी सबैको साझा हो । हेटौँडा बनाउने कुरामा हाम्रो कुनै पनि राजनीतिक हस्तक्षेप हुँदैन ।
अन्य पालिकाका जनताले हेटौँडा केका लागि भनेर चिन्ने ? के छ हेटौँडामा ?
सबैभन्दा सफल सहर हो, हेटौँडा । बाग्मती प्रदेशको राजधानी त हो नै, साथै यो एउटा सफल औद्योगिक सहर पनि हो । यो विकासको बाटोमा लम्किँदै गर्दा सफा, सुन्दर, हरित तथा नमुना सहरका रूपमा हटौँडालाई लिँदा हुन्छ ।
अबको बाँकी कार्यकालसम्म हेटौँडालाई कस्तो बनाउने योजना तपाईँको छ ?
हाम्रो स्रोत–साधनले भ्याएसम्म हामीले बनाएको गुरुयोजना कार्यान्वयन गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो । मेरो बाँकी कार्यकालसम्म यस्तो बनाउँछु भन्नुभन्दा पनि अबको १० वर्ष २० वर्षमा हेटौँडा कस्तो हुने भन्ने मुख्य विषय हो । त्यसको प्लानिङ हामीले गरेका छौँ । त्यहीअनुसार काम हुन्छ ।
आजको भोलि हुने केही होइन । अल्पकालीन योजना आफू लोकप्रिय हुन र राजनीतिक प्रचारका लागि प्रयोग गर्ने गरेको पाइन्छ । पालिकाबासीका आधारभूत आवश्यकता परिपूर्ति गर्दै दिगो विकासको योजना बनाएर काम गर्नेचाहिँ साँच्चिकै जनप्रतिनिधि हो ।
त्यसकारण तपाईंले अबको ३ वर्षपछि हेटौँडामा के हुन्छ होइन, अबको १० वर्षमा कस्तो हुन्छ, २० वर्षमा कस्तो हुन्छ सोध्दा राम्रो होला । तर मेरो कार्यकालको बाँकी अवधिमा हेटौँडा विकासको पहिलो खुड्किलो हामी पार गरिसक्छौँ । त्यसकारण मेरो कार्यकाल सकिँदै गर्दा तपाईँ हेटौँडा आउनुभयो भने ‘हेटौँडा बन्दै रहेछ’ पक्कै भन्नुहुनेछ ।
हामीले आफ्नो कार्यकालका लागि मात्र नभएर दिगो विकासका योजना सुरु गरेका छौँ । त्यसमा जनताका आधारभूत आवश्यकताको परिपूर्तिसँगै अघि मैले भनेको जस्तै सफा, सुन्दर, हरित तथा नमुना सहरका रूपमा हटौँडा बन्दै जानेछ ।
सबैजसो जनप्रतिनिधिलाई जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृबीचको टकरावका विषयमा सोध्दा रक्षात्मक जबाफ आउँछ । तपाईँको विचारमा चाहिँ टकराव किन हुन्छ होला ?
यसको एउटै जबाफ छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच स्वार्थ बाझियो भने समस्या आउने हो । ऐन, कानुनमा रहेर आ–आफ्नो काम गर्ने हो भने त्यस्तो अवस्था हुँदैन । उहाँहरूले हामीले बनाएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने हो । त्यसलाई कार्यान्वयन गर्दा कानुनसम्मत छ/छैन त्यसको जिम्मा उहाँहरूको हो ।
हेटौँडा उपमहानगरमा सह–सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँले यस विषयमा सबै बुझ्नु भएको छ । अब हामी जनप्रतिनिधिलाई छिट्टै काम चाहिन्छ । अवधि सीमित छ, छिट्टै भइदिए हुन्थ्यो भन्ने लाग्छ । तर, कानुन बेगर काम गर्न उहाँहरूले पनि मिल्दैन । यो तालमेल मिलेको ठाउँमा समस्या हुँदैन । जहाँ यो तालमेल मिल्दैन, त्यहाँ टकराव देखिन्छ ।
गाउँकाे सरकार शृंखलाः
१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’
१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’
१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’
१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’
११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’
१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’
९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’
८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ
७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’
६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’
५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’
४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !
३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’
प्रतिक्रिया