पौराणिक कालदेखि नै धरानको छुट्टै महत्व भए पनि यसको अहिलेको जग करिब १३० वर्षपहिले बसेको पाइन्छ । २०१७ सालमा धरानलाई नगरपालिका घोषित गरिएको थियो र २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा यो कोसी अञ्चलको सदरमुकामसमेत घोषित भएको थियो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनदेखि धरान उपमहानगरपालिका सधैँजसो चर्चामा आइरहेको छ । यो उपमहानगर सबैका लागि चासोको विषय पनि हुने गर्छ । पालिका प्रमुख स्वतन्त्र, उपप्रमुख माओवादी र कार्यपालिका÷नगरसभामा एमाले र कांग्रेस पनि । राजनीतिक कारणले गर्दा बेलाबेलामा यहाँ हुने गरेका विवाद पनि राष्ट्रिय स्तरका समाचार बनिरहेका हुन्छन् ।
विवाद भए पनि त्यस्ता विवादलाई सहमतिको प्रक्रियाका रूपमा हेर्नुपर्ने यहाँका उपप्रमुख अइन्द्रविक्रम बेघा बताउँछन् । जे भए पनि धरानको विकासका सबालमा सबै जनप्रतिनिधिहरू एकजुट रहेको उनको दाबी छ ।
निर्वाचित भएको १५ महिनाको अवधिमा जनताले तालीदेखि गालीसम्म दिएको अनुभव बटुलेका उपप्रमुख बेघासँग हामीले धरानको समग्र वस्तुस्थितिको बारेमा जान्ने प्रयास गरेका छौँ ।
‘गाउँको सरकार’को नयाँ अंकका लागि कृष्ण उप्रेतीले उपप्रमुख बेघासँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
तपाईँको यो १५ महिनाको अनुभवबाटै कुराकानीको सुरुआत गरौँ न उपप्रमुखज्यू ।
रमाइलो हुँदो रहेछ । जनताको समस्या सुन्ने समाधान गर्ने सिलसिला चलिरहेको छ । यही क्रममा कहिले माला भेटिन्छ, कहिले ताली, अहिले गाली पनि भेटिन्छ । कसैले तँ देउतै रैछस् भन्छन्, कसैले राक्षस पनि भन्छन् । जे होस् रमाइलै छ ।
धरानका प्रमुख हर्क साम्पाङ स्वतन्त्रबाट आउनु भएको । तपाईँ एउटा दलको प्रतिनिधित्व गर्दै आउनु भएको छ । यस्तो समीकरणका बीच काम गर्न कत्तिको सहज छ ?
म त साह्रै नै खुसी छु । काम गर्न पनि अहिलेसम्म सहज नै लागिरहेको छ । अब प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर काम गर्ने हैसियत राख्नु नै नेतृत्वको खुबी हो । यसले गर्दा प्रतिकूलतामा जीवन देख्ने, प्रतिकूलतामा भविष्य देख्ने, प्रतिकूलतामा योजना देख्ने र प्रतिकूलतामा परिणाम निकाल्ने मान्छे नै नेता हुन्छन् । त्यसैले गर्दा मैले यसलाई सामान्य रूपमा लिएको छु ।
काम गर्नेलाई कुनै पनि परिस्थितिले समस्या पार्दैन । आफ्नो लक्ष्य सफा छ भने त्यसलाई कसैले छेक्न सक्दैन ।
धरानका प्रमुखज्यूले पछिल्लो समय सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति र प्रतिक्रियाहरू तपाईँलाई कस्तो लागिरहेको छ ? केही सुझाव छन् ?
हाम्रो मेयर सा‘बले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेका सीमाभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हो । तत्तत् भूमिका निर्वाह गर्दा आवश्यक ठाउँहरूमा आवश्यक सहकार्य गरेर अघि बढ्नुपर्ने हुन्छ । अब उहाँले कहाँ के अनुभूति गर्नुहुन्छ, त्यो उहाँकै कुरा हो ।
मैले आफ्नो सीमामा रहेर काम गरिरहेको छु । अब मेयर सा‘बलाई के गर्दा अनुकूलता हुन्छ त्यही गर्नुहुन्छ । अब हामीले धेरै सुझाव के नै दिने हो र ? उहाँले सबैलाई जोड्नु पर्ने हो । सबैको भावनाको सम्मान गर्नुपर्ने हो ।
कुनै पनि विषयमा चाँडो प्रतिक्रिया जनाइहाल्ने मेयर सा’बको बानीले गर्दा कहिलेकाहीँ उहाँ मर्यादाभन्दा बाहिर गए जस्तो लाग्दैन तपाईँलाई ?
म कुनै पनि विषयमा कुनै पनि घटनालाई द्वन्द्वात्मक ढंगले बुझ्छु । राम्राभित्र नराम्रा पनि हुन्छन् र नराम्राभित्र राम्रा पनि हुन्छन् । मैले उहाँभित्र राम्रा पनि देखेको छु र नराम्रा पनि देखेको छु । तर, मैले राम्रा र नराम्राकाे कुरा गर्दै गर्दा अहिले नै उहाँको बारेमा जज गरेर तपाईँ सबै हिसाबले राम्रो वा सबै नराम्रो भन्ने हुँदैन । म मार्क्सवादी हुँ । म मार्क्सवादको चस्मा लगाएर यो भौतिक दुनियाँलाई हेर्छु ।
त्यही पनि धरानको नेतृत्व तपाईँको हातमा पनि छ । कुनै गलत कदममा त तपाईँले पनि सुझाव दिन सक्नुहुन्छ नि, होइन र ?
अब हेर्नुस्, मेयरज्यूले गर्नुभएको कामको जिम्मा उहाँले नै लिनुहुन्छ । र, त्यसको जबाफ पनि उहाँले नै दिनुपर्छ । मैले गरेको कामको जिम्मा म आफैँ लिन्छु । अब उहाँले बिगार्नुभयो भने म नबिगार्नुस् भन्छु । सम्झाउँछु, सुझाव त पक्कै पनि दिन्छु ।
अब कुराकानीको सन्दर्भ परिवर्तन गरौँ । तपाईँ त धरानको न्यायाधीश पनि । न्यायिक समितिको संयोजक तपाईँ आफैँ । धरानमा न्याय सम्पादनको अवस्था कस्तो छ ?
न्याय सम्पादनको विषयमा हामीले गरेको काममा हामी त सन्तुष्ट छौँ नै, यहाँका नागरिक पनि सन्तुष्ट भएको हामीले पाएका छाँै । म आएपछि यहाँ देखेको मुद्दाको प्रकृति हेर्ने हो भने सबैभन्दा बढी पति–पत्नीबीचको झगडा, लेनदेनका विषय बढी आएका छन् । हामीले सबैजसो मुद्दामा सबैको हित हुने गरी मिलाउने प्रयास गरेको छौँ ।
यस पटक हामीकहाँ लालनपालनसम्बन्धी एउटा मुद्दा आएको थियो । त्यसमा हामीले विशेष खालको निर्णय ग¥यौँ । एउटा छोराले बाआमाको सम्पत्ति आफ्नो नाममा लगेछ र बुबा–आमाको लालनपालन नगरी त्यसै छाडेछ । हामीले त्यसको सबै सम्पत्ति र बैंक खाता पनि रोक्का गरेका छौँ ।
यो १५ महिनाको बीचमा भएका विकासका कामलाई प्रस्तुत गर्नुपर्दा कसरी गर्नुहुन्छ ? र, आगामी योजना के छ ?
विकास भने निरन्तर चल्ने प्रक्रिया हो । यसैमा हामी पनि चलिरहेका छौँ । यसबीचमा हामीले सडक कालोपत्रदेखि वडा कार्यालयहरूको भवन निर्माणलाई द्रुत गतिमा लिएर गएका छौँ । साथै विद्यालय र अस्पतालको संरचना सुधारमा पनि काम भइरहेका छन् ।
अब आगामी योजनाको विषयमा भन्नुपर्दा, धरानलाई हामी हिजोको भन्दा आज राम्रो बनाउँछौँ र आजभन्दा भोलि राम्रो बन्दै जाने छ । चाहे त्यो शिक्षाको क्षेत्रमा होस्, स्वास्थ्यमा होस् वा संस्कृतिको क्षेत्रमा होस् । यी सबै क्षेत्रको सुधारका लागि हामी योजनासहित अघि बढेका छौँ ।
केही महिनाअघि धरानको कार्यपालिका बैठकमै भनाभनको अवस्था देखिएको थियो । कतिपय वडाध्यक्षले बैठक नै बहिस्कार गरेका थिए । पालिकामा जनप्रतिनिधिहरूबीच नै समस्या छ हो ?
यहाँ अल्पमत र बहुमत भन्ने छैन, सर्वसम्मतको वातावरण छ । तर, सबैले आ–आफ्नो मत त राख्न पाउँछन् होला नि ! वडाध्यक्षहरूले बहिस्कार गरेर पालिकाको कुनै योजना निष्क्रिय भएको अवस्था छैन । त्यो त आफ्नो मत राख्ने क्रममा देखिएको सामान्य बहसको घटना मात्र थियो ।
बहस भनेको सबै ठाउँमा हुने विषय हो । तर, निर्णय गर्ने प्रक्रियाचाहिँ निर्णय भएर नै समाप्त हुन्छ । हाम्रो पालिकामा बहस र छलफलकै कारण कुनै पनि निर्णय फेल भएको छैन । हामीबीच व्यापक र गम्भीर बहस हुन्छ । सबैले आ–आफ्नो मत राख्नुहुन्छ ।
त्यही मतलाई समेटर निर्णय प्रक्रियामा सामेल भइएको छ र त्यही निर्णय सर्वसम्मत भएर पास भएको छ । हामीकहाँ कुनै पनि निर्णय अल्पमतमा परेर फिर्ता गएको मैले अहिलेसम्म देखेको छैन ।
उसो भएर धरानका जनप्रतिनिधिहरू एक छन् भनेर बुझ्दा हुने हो ?
यसमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । हामी आँखा चिम्लिएर कसैको समर्थन गर्दैनौँ र कसैको कट्टर विरोध पनि गर्दैनौँ । हाम्रो एजेन्डाअनुसारको सहकार्य हुन्छ । सबैमा राम्रा मात्र हुँदैनन् र सबैमा नराम्रो मात्रै पनि हुँदैन । पालिकाको विकासको सन्दर्भमा मेयरदेखि वडा सदस्यसम्म एक भएर अघि बढेको अवस्था छ । यसमा पनि बेलाबेलामा छलफल हुन्छ, तर निष्कर्ष सहमतिमै टुंगिएको छ ।
गाउँकाे सरकार शृंखलाः
के भन्छन् हर्क साम्पाङका सारथि ? धरानका उपमेयरसँग विकास संवाद
१६. ‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’
१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’
१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’
१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’
१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’
११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’
१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’
९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’
८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ
७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’
६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’
५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’
४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !
३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’
प्रतिक्रिया