‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’

‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’

स्वर्गद्वारीका मेयर भन्छन्– बजेटकै कारण सोचेजति गर्न सकिँदैन रहेछ


प्युठानको स्वर्गद्वारी मन्दिर धार्मिक एवं पर्यटकीय हिसाबमा महत्वपूर्ण मानिन्छ । बर्सेनि हजारौँको संख्यामा देशका कुना–कुनाबाट तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर पुग्छन् । यसलाई देशको प्रख्यात धार्मिक स्थलका रूपमा पनि राखिन्छ ।

यहाँको पालिकाको नाम पनि यसै मन्दिरको नामबाट राखिएको छ । स्वर्गद्वारी नगरपालिका २०७३ सालमा घोषणा भएको हो । भौगोलिक हिसाबमा भन्ने हो भने अधिकांश भूभाग पहाडी क्षेत्र रहेको यस पालिकामा कृषि र पशुपालन धेरैको रोजगारीको क्षेत्र हो । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेस, जनमोर्चा, एमाले, माओवादीका उम्मेदवारहरू जनप्रतिनिधिका रूपमा आए ।

कुनै दलको पनि पूर्ण बहुमत नरहेको यस पालिकामा विकासको सवालमा सबै जनप्रतिनिधिहरू एक ठाउँमा हुने गरेको यहाँका नगर प्रमुख टेकप्रसाद भण्डारी बताउँछन् । कार्यकाल सुरु भएको केही महिनामै पालिकालाई खरको छानामुक्त बनाउन सफल उनको नेतृत्व अहिले पालिकालाई स्वरोजगार तथा तथा आत्मनिर्भर बन्ने बाटोमा डोर्‍याउने गरी काम गरिरहेको छ ।

आजको ‘गाउँको सरकार’को यो अर्को अंकमा हामीले उनै भण्डारीसँग स्वर्गद्वारीको विकास र विविध पक्षमा केन्द्रित रहेर कुराकानी गर्ने प्रयास गरेका छौँ । सहकर्मी कृष्ण उप्रेतीले नगर प्रमुख टेकप्रसाद भण्डारीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईँहरूले पालिकाको नेतृत्व लिएको १५ महिना पूरा भएछ । यसबीचमा पालिकामा के–के काम भए ?

मैले २०७९ सालको जेठ ५ गते पालिका प्रमुखका रूपमा कार्यभार सम्हालेको हुँ । त्यसयता म एक जनाले मात्र होइन, सबै जनप्रतिनिधिले आफ्नो पालिकाका लागि सक्दो काम गरिरहेकै छौँ ।

विशेष गरी पहाडी भूगोल भएको यस पालिका स्वास्थ्यमा अलि पिछडिएकै पालिका पनि हो । यसका लागि केही गर्नुपर्छ भनेर हामीले हरेक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्‍यौँ । यसले गर्दा स्थानीयले पालेर राखेका धेरै रोगको उजागर भयो ।

विशेष गरी महिलाहरूमा पाठेघरको क्यान्सर पनि भेटियो । धेरैको अहिले चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ भने कतिपय उपचारपछि घर फर्किसकेका छन् ।

यसबाहेकका मानसिक बिरामीहरू पनि यहाँ धेरैलाई देखियो । २१ जनाजतिको हामीले उपचार नै गर्‍यौँ । यसका लागि पाटनको मानसिक अस्पतालले सहजीकरण गरेको थियो । यीबाहेक अन्य थुप्रै रोगको पनि हामीले उपचार गरायौँ ।

त्यस्तै, शिक्षाको क्षेत्रमा पनि हामीले केही काम गरेका छौँ । आधारभूत तहसम्मको शिक्षा निःशुल्क दिनुपर्छ भन्ने नेपाल सरकारको मान्यताले सफलता पाउन नसकिरहेको अवस्थामा हामी त्यसलाई कार्यान्वयन गर्ने बाटोमा छाँै । विद्यार्थीसँग सहयोगमार्फत् लिइँदै आएको सामान्य शुल्क पनि हामीले नलिने वातावरण बनाउँदै लगेका छौँ । अहिले स्वर्गद्वारीका कुनै पनि सामुदायिक विद्यालयमा कक्षा ८ सम्म कुनै पनि प्रकारको शुल्क लाग्दैन ।

यीबाहेक पनि अन्य थुप्रै काम गर्न बाँकी छ, अब गर्दै जाऊँ । १५/१६ महिनाको अवधिमा यहाँसम्म आएका छौँ । आगामी दिनमा कहाँसम्म पुगिन्छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रै काम भएका रहेछन् । पालिकाबासीको जीवनस्तरमा सहजता ल्याउने त्यस्तो कुनै क्षेत्रमा पनि केही भएको छ त ?

छ नि । विगतका दिनमा स्वर्गद्वारीमा आगलागीका थुप्रै घटना हुन्थे । अहिले त्यसलाई न्यूनीकरण गर्न हामीले पालिकाभित्र रहेका घरको खरका छानालाई विस्थापित गरेका छाँै । पालिकाले आफ्नै खर्चमा अहिले ती सबै खरका छानालाई जस्ताको बनाएको छ । अहिले स्वर्गद्वारी नगरपालिका खरको छानामुक्त पालिका पनि बनेको छ । यसले गर्दा यहाँका स्थानीय प्रत्यक्ष रूपमै लाभान्वित पनि भएका छन् ।

स्वर्गद्वारीको कार्यपालिकामा कांग्रेस, जनमोर्चा, एमाले, माओवादीलगायत पार्टीको उपस्थिति छ । फरक विचारधारा भएकाहरू एक ठाउँमा हुँदा काम गर्न सहज/असहज कस्तो हुँदोरहेछ ? यसले पालिकाको विकासमा असर पारेको छ कि छैन ?

फरक राजनीतिक दलका व्यक्तिसँग फरक मत हुनु स्वाभाविक विषय हो । तर, जनताका लागि काम गर्ने सवालमा कसैको पनि फरक मत हुनुहुँदैन । मैले यहाँका साथीहरूलाई पनि यस विषयमा भन्ने गरेको छु । पालिकालाई समृद्ध बनाउने हो भने सबैजना एक ठाउँमा हुनुपर्छ भन्ने मानसिकता सबै साथीको छ ।

पालिकामा मेरो बहुमत नभए पनि पालिकाको काम गर्ने विषयमा सबै साथीले मलाई साथ र सहयोग दिनुभएको छ । काममा कुनै अप्ठ्यारो अहिलेसम्म परेको छैन ।

तपाईँको नगरपालिकमा अहिले प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ कि हुनुहुन्न ?

पहिले यहाँ हुनुभएको प्रमुख प्रशासकीय अधिकृत साउन ४ गते उमेर हदका कारण यहाँबाट बिदा हुनुभयो । उहाँ एकदमै अनुभवी र पाको हुनुहुन्थ्यो । त्यसपछि अहिले फेरि उहाँजस्तै अनुभवी हाकिम सा’ब आउनुभएको छ । हाम्रो पालिकामा प्रशासकीय अधिकृतको कुनै समस्या छैन ।

पालिकाहरूमा विशेष गरी प्रशासकीय अधिकृत र पालिका प्रमुखबीच टसल हुने गरेको सुन्नमा आउँछ । यस्तो किन हुन्छ होला ? केही थाहा पाउनुभयो ?

यसमा कुनै ठुलो समस्या नै छैन । प्रशासकीय अधिकृतहरू नियममा रहनुहुन्छ, हामी हतारमा काम गर्न चाहन्छौँ । हतार र नियमबीच तालमेल बसेन भने समस्या आउँछ ।

कुनै एक पक्ष नियमसंगत हिसाबले चल्न नचाहँदा नै समस्या आउँछ । यसमा ध्यान दिने हो भने यो कुनै समस्या नै होइन ।

अबको बाँकी कार्यकालभित्र स्वर्गद्वारीलाई कस्तो बनाउने योजना छ ?

काम त थुप्रै गर्न बाँकी छ । हाम्रो स्रोत र साधनले पनि धेरै कुरालाई रोक्छ । केन्द्र सरकारबाट त्यसअनुसारको बजेट पनि हामीले पाएका छैनौँ । जुन पनि योजनाहरू आर्थिक पाटोमै गएर ठोक्किने हो । त्यही पनि केही काम गरेरै छाड्ने अठोट लिएको छु ।

यहाँको मुख्य आयस्रोत र रोजगारी दिन सक्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो । हामीले त्यही भएर कृषि क्षेत्र र पशुपालनमा बढी ध्यान दिएका छौँ । त्यसैअनुरुप आत्मनिर्भरको दिशामा स्वर्गद्वारी नगरपालिकालाई अघि बढाउने मेरो लक्ष्य छ ।

कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई एकदमै आत्मसात गरेको छु । आगामी आर्थिक वर्षको बजेटमा यी विषयले उचित न्याय पाउनेछन् । स्वास्थ्य र शिक्षाको क्षेत्रमा अझै सुधार हुन बाँकी नै छ ।

अबको पाटो भनेको स्वरोजगार र रोजगारी सिर्जना गर्ने तथा आत्मनिर्भर बन्ने कुरालाई विशेष ध्यान दिएर अघि बढ्ने नै हो । हामी सबै त्यसैमा केन्द्रित छौँ ।

यहाँका केही ठाउँमा खानेपानीको समस्या अझै पनि छ । त्यसमा पनि काम गर्नुपर्ने छ । अहिले हाम्रो स्वर्गद्वारी मन्दिर वरपरको क्षेत्र तथा वडा नम्बर २ का सम्पूर्ण भेगमा एक घर एक धाराको अवधारणा अनुसार काम भइरहेको छ । केन्द्र सरकारको सहयोगमा निर्माण हुँदै गरेको यो योजनाले हाम्रो पालिकाबासीलाई धेरै नै राहत पुर्‍याउने छ ।

यही हो अबको बाँकी कार्यकालमा एक जना पनि नगरबासीले खानेपानी पाइएन भन्ने दुःखेसो गर्न नपर्ने वातावरण बनाउने छु । त्यस्तै, म यहाँबाट बिदा भइरहँदा कसैले पनि गाउँमा बाटो आएन भन्नेर गुनासो गर्नुपर्दैन ।

गाउँकाे सरकार शृंखलाः

१७. के भन्छन् हर्क साम्पाङका सारथि ? धरानका उपमेयरसँग विकास संवाद

१६. ‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’

१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’

१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’