‘आन्दोलन गर्ने शिक्षकको तलब रोक्का हुन्छ’

‘आन्दोलन गर्ने शिक्षकको तलब रोक्का हुन्छ’

राराका मेयर भन्छन्– जनप्रतिनिधिकै कारण देश तन्नम भयो


छायाँनाथ रारा नगरपालिका कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ । मुगु कर्णाली नदी यसै नगरपालिका भएर बग्छ भने नेपालकै सबैभन्दा ठुलो रारा ताल पनि यसै पालिकामा छ । त्यस्तै, हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध धाम छायाँनाथ पनि यसै पालिकामा अवस्थित छ ।

प्राकृतिक र धार्मिक संगमका रूपमा रहेको यस पालिकाको नाम पनि त्यसैअनुसार राखिएको छ । प्रसिद्ध धाम छायाँनाथ र रारा तालको संयुक्त अस्तित्वलाई मान्यता दिँदै पालिकाको नाम नै छायाँनाथ रारा राखिएको छ ।

यसको नेतृत्व अहिले विष्णुकुमार भामले गरिरहेका छन् । वडाध्यक्ष हुँदै नगर प्रमुख बनेका उनी राजनीतिलाई विशुद्ध समाज सेवाको रूपमा स्थापित गर्ने बाटोमा छन् । आफैँ पनि कुनै सेवा–सुविधा नलिने उनी कुनै पनि जनप्रतिनिधिले सेवा सुविधा लिनुहुन्न भन्ने मान्यता राख्छन् ।

‘गाउँको सरकार’को नयाँ अंकमा उनै भामसँग पालिकाको विकासदेखि आम विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने जमर्को गरेका छौँ । सहकर्मी कृष्ण उप्रेतीले नगर प्रमुख भामसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

कुनै एउटा दलको नेता हुँदै स्थानीय सरकारको नेतृत्व गर्ने मेयरसम्म बन्दा कस्तो अनुभव गर्नुभयो ?

राजनीति भनेको विशुद्ध सेवा हुनुपर्छ । राजनीतिलाई कमाइ खाने भाँडो र पेसाका रूपमा हेर्नुहुन्न । राजनीति त समाज सेवा गर्नका लागि हो । म त्यही सिद्धान्तमा अघि बढेको छु । मेरो त्यही सिद्धान्तका कारण आज म मेयरका रूपमा छु ।

म २०७४ सालमा पनि जनप्रतिनिधि थिएँ । त्यसैले जनप्रतिनिधिको लामो अनुभव मलाई छ । त्यही अनुभवले गर्दा मलाई काम गर्न पनि सहज भएको छ ।

२०७४ सालमा पनि जनप्रतिनिधि हुनुहुन्थ्यो ?

हो, म २०७४ सालमा यसै नगरपालिकाको वडा–४ को वडाध्यक्ष थिएँ ।

पहिले वडाध्यक्ष भइसक्नु भएको रहेछ । धेरै वडाध्यक्षले भन्ने गरेको एउटा कुरा छ, ‘मेयरले केही गरेनन् । म भएको भए त धेरै काम गरिसक्थेँ ।’ तपाईँलाई चाहिँ त्यस्तो लाग्थ्यो कि लाग्दैनथ्यो ?

त्यस्तो होइन, सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने अवधारणाका साथ हामी अघि बढेका छौँ । सानोतिनो कामका लागि पहिले हामी काठमाडौँ नै जानुपथ्र्यो, तर अहिले आफ्नै गाउँबाट ती काम हुन्छन् ।

एउटा वडाध्यक्षकै लागि ३८ वटा अधिकार प्रत्याभूत गरिएको छ । यसले गर्दा पनि हामी ढोका–ढोकामा सिंहदरबारको अनुभूति गरिरहेका छौँ ।

मेरो सवालमा पनि त्यही हो । म वडाध्यक्ष हुँदा ती ३८ वटा अधिकार प्रयोग गरेर काम गर्थेँ भने अहिले पालिकाको नेतृत्व गरिरहेको छु । त्यतिबेला पनि आफ्नो काममा चित्त बुझाएकै थिएँ, अहिले पनि जिम्मेवारी सम्हालेकै छु ।

म वडाध्यक्षमा निर्वाचित हुँदा नै मैले राजनीतिलाई पेसा बनाउँदिनँ भनेर घोषणा गरेको थिएँ । त्यसले गर्दा पनि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न मलाई सहज भयो । सबैले आफूले सकेको जति त गर्ने हो नि !

पलिकाको नेतृत्वमा आएपछि तपाईँको पहलमा भएका राम्रा काम केही छन् ?

विभिन्न शीर्षकमा सरकारले जनतालाई भत्ता र सहयोग बाँड्दै आएको छ । तर, दलितको जीविकोपार्जन र उनीहरूको उत्थानका लागि कुनै तहबाट पनि सहयोग भएको थिएन ।

हामीले त्यसलाई मध्यजनर गर्दै राराका १ हजार २४७ घरधुरीलाई दसैँ भत्ताको अवधारणा अनुसार कार्यविधि बनाएर प्रतिघरधुरी २ हजार ५०० रुपैयाँ वितरण गर्‍यौँ । त्यो कार्यक्रमले यस पटक पनि निरन्तरता पाउँछ ।

हामीले त्यो रकम त्यत्तिकै बाँडेका छैनौँ । यसमा हामीले घर वरपर सफा गर्नुपर्ने, कमसेकम कसेराबारीमा तरकारी लगाउनुपर्ने जस्ता नियम पनि बनाएका छौँ । यसले उनीहरूको जीवनस्तरलाई गुणस्तरीय बनाउन पनि मद्दत गर्छ ।

साथै, यहाँको कला, संस्कृति पनि उनीहरूकै कारणले जोगिएको छ । यसबापत पनि उक्त सहयोग पालिकाले गरेको हो ।

त्यस्तै, नगरका गरिब, दीनदुःखी, अपांगता भएका, असहायका लागि हामीले नगर बस पनि सञ्चालन गरेका छौँ । अघिल्लो वर्ष २ वटा बस सञ्चालन गरेकामा यस वर्ष थप २ वटा बस ल्याउँदै छाँै । यसले सेवा विस्तारमा अझ सहजता ल्याउने अपेक्षा छ ।

त्यस्तै, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि केही सकरात्मक कामहरू भएका छन् । यहाँ ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये १८ वटा विद्यालय र ३ वटा स्वाथ्य चौकीको पक्की भवन हामीले बनाएका छौँ । यी काम हामी आएपछि नै भएका हुन् ।

साथै, सन् २०३० भित्र हरेक घरमा पिउने पानीको धारो पुर्‍याउने सरकारको लक्ष्यलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । यसका लागि हामीले साना र टुक्रे योजनाभन्दा पनि बृहत् योजनालाई अघि बढायौँ । जसमा ११ वटा बस्तीका लागि ११ वटा योजना तयार गरेर १ हजार ६७६ घरधुरीमा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत धारा जडान भएका छन् ।

दलितलाई भत्ता वितरण गरिरहँदा अन्य समुदाय असन्तुष्ट होलान् नि !

हामीले यसका लागि कार्यविधि नै बनाएका छाैँ । जसमा अन्तरजातीय विवाह गर्नेका लागि १ लाख रुपैयाँ सहयोग गर्ने, दलित तथा विपन्न वर्गका अनाथ बालबालिकाका लागि निःशुल्क अध्ययनदेखि गाँस, बास, कपासको व्यवस्था गर्नेलगायत कार्यक्रम तयार गरेर सञ्चालन गरिरहेका छौँ । यसमा दलितलाई मात्र भन्ने छैन ।

अब दलितको विषयमा चाहिँ अलि बढी नै काम हामीले गरेका छौँ । किनकि दलितलाई हामीले नै गरिब र पछिडिएको वर्ग बनाएका हौँ । उनीहरूलाई हामीले काम मात्र लगायौँ र उनीहरूका बालबालिकालाई पढ्न पनि दिएनौँ । त्यसैले त आज उनीहरूको अवस्था नाजुक छ । यही कारणले गर्दा उनीहरूको उत्थान गर्नु हाम्रो जिम्मेवारी हो ।

प्रसिद्ध रारा ताल पनि तपाईँकै पालिकामा पर्छ । राराको संरक्षण र पर्यटन प्रवद्र्धनमा चाहिँ के गर्नुभएको छ ?

रारा ताल पनि हाम्रै पालिकामा पर्छ तर, त्यसको सम्पूर्ण अधिकार भने रारा राष्ट्रिय निकुञ्जसँग छ । त्यसले गर्दा यहाँको पर्यटन क्षेत्रमा काम गर्न केही असहज भएको छ । तर, पनि हामीले यहाँका होमस्टे सञ्चालकहरुलाई तालिम दिने काम गरेका छौँ ।

यहाँ घोडामा यात्रा गराएर कमाउनेहरू धेरै हुनुहुन्छ । उहाँहरूका लागि पनि हामीले घोडाका लागि चाहिने विभिन्न सामग्री दिएर सहयाग गरेका छौँ । त्यस्तै, पर्यटकसँग गर्ने व्यवहारका बारेमा पनि हामीले स्थानीयलाई प्रशिक्षण गर्ने गरेका छौँ । जे होस् हाम्रोतर्फबाट हुनसक्ने काममा कुनै कसर बाँकी राखेका छैनौँ ।

तपाईँले त नगरपालिकाबाट कुनै पनि सेवासुविधा लिनुहुन्न रे हो ?

हो । म कुनै पनि सेवासुविधा लिन्नँ । यो अहिले मात्र होइन, पहिले वडाध्यक्ष हुँदा पनि लिएको थिइनँ । वडाध्यक्ष हुँदा आफूले ५ वर्षमा पाएको करिब १५ लाख रुपैयाँ मैले दलित बस्तीमा छात्रवृत्तिका शैक्षिक सामग्री वितरण, शौचालय निर्माण, खाद्यान्न वितरण जस्ता काम गरेर सहयोग गरेँ ।

मेयरमा चुनाव लड्दा पनि मैले घोषणापत्रमै उल्लेख गरेर कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेको थिएँ । अहिले मेयरले मासिक रूपमा पाउने करिब ४० हजार रुपैयाँ बैंकको मुद्दती खातामा जम्मा गरेको छु । मेरो कार्यकालसम्म जति रकम त्यो खातामा जम्मा हुन्छ । त्यसबाट राराका जनताका लागि एम्बुलेन्स किन्ने योजना बनाएको छु । यो मेरो घोषणापत्रमा पनि उल्लेख छ ।

पालिकामा कर्मचारीहरू पर्याप्त छन् ? अनि उनीहरूसँगको तपाईँको कार्यगत एकता कस्तो छ ?

हाम्रो पालिकामा सबै निकाय र शाखामा आवश्यक कर्मचारीहरू हुनुहुन्छ । त्यस्तो कुनै समस्या छैन । मिलेरै काम गरिएको छ । कहीँकहीँ समस्या भएको सुन्छु । तर, हाम्रोमा त्यस्तो छैन । उहाँहरूको काममा हामीले हस्तक्षेप गरेनौँ र हाम्रो कामका उहाँहरूले रोक्ने काम गर्नुभएन भने त्यस्ता समस्या नै हुँदैनन् ।

अन्तमा तपाईँलाई भन्न मन लागेका त्यस्तो केही छ ?

भन्न त धेरै कुरा बाँकी छ । तर, भन्नैपर्ने एउटा कुरा छ । यो देश स्वार्थको राजनीति र आन्दोलनले ध्वस्त भइसक्यो । म त भन्छु, वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरूको तलब, सेवा सुविधा हुनुहुँदैन । यो देशलाई उँधोगति लगाउन सबै जनप्रतिनिधिको ठुलो हात छ । सबैले राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका छन् । राज्यको सम्पत्ति दोहन गरिरहेका छन् ।

निष्पक्ष रूपमा हामी सबैले समाज सेवाका रूपमा राजनीति गरौँ त, भोलि यो देश कहाँ पुग्छ । अहिले हरेक नागरिकको थाप्लोमा करिब लाखको हाराहारी ऋण थुप्रिएको छ । यसको जिम्मा कसले लिने ?

मैले त आन्दोलनका लागि काठमाडौँ गएका शिक्षकहरूको तलब नै रोक्का गर्ने निर्णय गरेको छु । आन्दोलनले देश त सक्किसक्यो त । अब पनि आन्दोलन ? हुन त उहाँहरूको सहमति भइसकेछ ।

तर, पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएका र यहीँ भएर पनि विद्यालय नआएका सबै शिक्षकको चौमासिक तलब रोक्का गर्ने नै हो । बालबालिकाको भविष्यमा खेलबाड गर्न पाइन्छ ? उहाँहरूको यसपालि कुनै पनि हालतमा तलब निकासा हुँदैन ।

गाउँकाे सरकार शृंखलाः

२०. ५ वर्षका लागि ईश्वरपुरका मेयरका ५ प्राथमिकता

१९. ‘चोरेको मोडल’को संघीयताले देश कसरी विकास हुन्छ ?’

१८. ‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’

१७. के भन्छन् हर्क साम्पाङका सारथि ? धरानका उपमेयरसँग विकास संवाद

१६. ‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’

१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’

१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’