गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने पालिका हो– गैँडाकोट नगरपालिका । राज्य पुनर्संरचनाको क्रममा नवलपरासी जिल्ला विभाजन भएर नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी २ जिल्ला बन्यो । बर्दघाट सुस्ता पश्चिमलाई लुम्बिनी प्रदेशमा राखियो भने बर्दघाट सुस्ता पूर्वलाई गण्डकीमा ।
भौगोलिक अवस्था हेर्ने हो भने गैँडाकोट सुगम पालिकामा पर्छ । पालिकाको छेवै भएर बग्ने नारायणी नदीपारि भरतपुर महानगरपालिका रहेको गैँडाकोट चितवन राष्ट्रिय निकुञ्जको उत्तरतर्फ पर्छ । यहाँ बस्ती बस्नुभन्दा अगाडि गैँडा रहने भएकाले पालिकाकै नाम गैँडाकोट राखिएको जनधारणा पाइन्छ ।
धार्मिक र पर्यटकीय क्षेत्रले भरिभराउ यो पालिका सम्भावना बोकेको पालिका पनि हो । यस पालिकाको नेतृत्वमा अहिले मदनभक्त अधिकारी छन् । उनै भण्डारीसँग पालिकाको समग्र विकास, सम्भावना र पालिका सञ्चालनको अनुभवका बारेमा हामीले आजको ‘गाउँको सरकार’को यो नयाँ अंकमा कुराकानी गर्ने प्रयास गरेका छौँ । प्रमुख अधिकारीसँग सहकर्मी कृष्ण उप्रेतीले लिएको अन्तर्वार्ताको सम्पादित अंश ः
तपाईँ जनप्रतिनिधिका रूपमा निर्वाचित भएको यो पहिलो पटक हो मेयरज्यू ?
हो, म जनप्रतिनिधि बनेको यो नै पहिलो पटक हो ।
जनप्रतिनिधिका रूपमा कस्तो अनुभव बटुलिरहनु भएको छ त ?
ठिकै छ । विकास निर्माणका काम चलिरहेकै छन् । सुनाउनैपर्ने त्यस्तो कुनै राम्रो अनुभव पनि छैन र नराम्रो पनि त्यस्तो केही छैन ।
जनप्रतिनिधि चयन हुनुभन्दा पहिले नेताका रूपमा जनताको घरघर जानु र जनप्रतिनिधि भएर त्यही ठाउँमा पुग्दाचाहिँ कस्तो फरक हुँदोरहेछ ?
नेता र जनप्रतिनिधि भएर जनतासामु जानुमा ठुलै फरक हुने रहेछ । नेता मात्र हुँदा जनताका अगाडि गएर भाषणभुसणमा समय बिताउँदा हुन्थ्यो भने जनप्रतिनिधि भएर जनताका सामु जाँदा उनीहरूको चित्त बुझाउनैपर्ने हुन्छ । जनताले मागेका योजना र विकासका काम गर्नैपर्ने हुन्छ । उनीहरूले भनेको मान्दा त खुसी नै हुन्छन्, यदि भनेजस्तो भएन भने रिसाउँछन् पनि ।
हामी पनि उनीहरूको आवश्यकता पूरा गर्छौँ भनेरै जनप्रतिनिधि भएर आएका हौँ । उनीहरूको रिस पनि सहनैपर्यो । त्यसैले केही गाह्रोचाहिँ पक्कै पनि हुन्छ ।
तपाईँ मेयरका रूपमा निर्वाचित भएको करिब १६ महिना भएछ । यसबीचमा पालिकामा देखिने गरी विकासमा काम के–के भए ?
विशेष गरी यो १६ महिनामा बाटोघाटो निर्माण द्रुत गतिमा भएका छन् । त्यस्तै, वडा कार्यालयहरूको प्रशासनिक भवन, नगर अस्पतालको भवन तथा विद्यालयहरूको भौतिक संरचना निर्माण आसलाग्दो हिसाबमा भएको छ ।
कृषि क्षेत्रमा पनि हामीले केही काम गरेका छौँ । विशेष गरी बोरिङमार्फत् सिँचाइ गर्ने योजनालाई प्राथमिकताका साथ अघि बढाएका छौँ । साथै, कृषकहरूका लागि ५० प्रतिशतमा कृषि औजार दिने र ५० प्रतिशतकै अनुदानमा गाई, भैँसी पनि उपलब्ध गराएका छौँ । यसले गर्दा कृषक दाजुभाइहरूमा केही हौसला र आँट थपिएको हामीले पाएका छौँ ।
गैँडाकोटलाई त सम्भावना बोकेको पालिकाका रूपमा पनि लिइन्छ । पालिकालाई विकासको गतिमा दौडाउन कस्ता योजना अघि सार्नुभएको छ ?
अब योजना त थुप्रै छन् । तर, त्यसका लागि चाहिने भनेको बजेट नै हो । तर, संघीय सरकारले नै कुनै सहयोग नगरेपछि जस्ता योजना भए पनि केही नहुने रहेछ । हामीले गैँडाकोटको विकासका लागि थुप्रै योजना अघि सारेका छौँ । तर, बजेटका कारण सोचेअनुरूप हुन चाहिँ सकेको छैन ।
योजनाअनुसारको बजेट पनि हुने हो भने चाहिँ गैँडाकोटलाई समृद्ध बनाउन सकिन्छ होला । त्यसका लागि नगरपालिका एक्लैले केही गर्न सक्दैन । संघ र प्रदेशको पनि साथ चाहिन्छ ।
गैँडाकोट त पर्यटकीय क्षेत्रका रूपमा पनि चिनिन्छ । त्यसको प्रवर्द्धनका लागि चाहिँ पालिकाले के–कस्ता काम अघि सारेको छ ?
मौलाकालिका, मणि मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरू यहाँ छन् । मौलाकालिकामा त अहिले केबलकार नै सञ्चालन भइसकेको छ । यसले गर्दा पर्यटकहरूको आवागमनमा पनि केही वृद्धि भएको छ । पालिकाले गर्ने विकासका कामका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौँ ।
त्यस्तै, पाल्पाबाट यता हिँडेर आउँदा बस्ने ठाउँ भनेर चिनिने मणि मुकुन्दसेन दरबारको विकास र प्रवर्द्धनमा पनि पालिका जुटेको छ । जे होस् पर्यटकीय क्षेत्रको विकास र प्रचारमा हामीले आफ्नो क्षमताअनुसार काम गरी नै रहेका छौँ ।
तर, नारायणी नदीको किनारमा पर्ने हाम्रो वडा नम्बर ४, ५ हुँदै ९ नम्बरको भू–भागमा तटबन्धन गर्नुपर्ने थियो । तर, नेपाल सरकारले बजेटको व्यवस्थापन नगर्दा ठेकेदारहरूले गर्दै गरेको काम पनि छाडेर हिँडेका छन् । यदि तटबन्धन भएको भए यो नदी किनार अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्थ्यो । तर, सरकारले नजरन्दाज गर्दा त्यसो हुन सकेको छैन ।
नारायणी नदी किनारको सौन्दर्यकरणका लागि पारिपट्टी रहेको भरतपुर महानगरसँग त्यस्तो केही सहकार्य भएको छ ?
त्यस्तो केही सहकार्य भएको छैन । अब भरतपुर विकसित सहर, हामी सानो नगरपालिका । त्यही पनि नारायणी पुलमा सडक बत्ती राख्न हामीले आग्रह गरेका थियौँ । त्यहीअनुसार बत्तीचाहिँ भरतपुरले राखिदिएको छ । त्यत्ति हो, अरू केही सहयोग र सहकार्य भएको छैन ।
भरतपुर र गैँडाकोट एउटै नदीका २ किनारमा छन् । भरतपुरतिरको नदी किनारमा तटबन्धनदेखि सौन्दर्यकरणका लागि धमाधम काम भइरहँदा तपाईँहरूकोतिर चाहिँ किन सुनसान ?
यहाँ कुरा अचम्मको छ । हामीहरूलाई बजेट नपरेको होइन, परेकै हो । तटबन्धनका लागि भनेर १ अर्ब ९ करोडको बजेट हामीहरूलाई पनि परेको थियो । त्यसैअनुसार ठेकेदारहरूले काम पनि सुरु गरेका थिए ।
तर भयो के भने, ठेकेदारहरूले करिब १६ करोड जतिको काम गरिसक्दा पनि सरकारले भुक्तानी नै दिएन । अरू ठाउँतिर काम गरेन भनेर सरकारले ठेक्का तोड्थ्यो, यहाँ त पैसा नपाएको भएर ठेकेदारले नै ठेक्का तोडे ।
यसरी हेर्दा त सरकारले निकासा नगर्ने गरी बजेट छुट्याएको जस्तो देखियो । यसका लागि यहाँका हाम्रा सांसदज्यूले पनि कुनै पहल गरेको देखिएन ।
मैले अर्थमन्त्रीलाई यो कुरा भनिदिनु न भनेर सांसदज्यूलाई कयौँ पटक भनेँ । तर, उहाँले बजेट निकासाका लागि कुनै पहल नै गर्नुभएन । पारिपट्टि त्यत्रो काम हुँदा पनि संघ सरकारले पनि हामीलाई वास्तै गरेन ।
उसो भए केन्द्रसँग राम्रो पहुँच भएकाहरूका लागि मात्र बजेट आउने हो त ?
त्यस्तै छ । केन्द्रसँग पहुँच हुनैपर्ने जस्तो देखियो । अब हाम्रा सांसदले राष्ट्रिय स्तरका योजनाका लागि कुनै पहल नै गर्नुभएन । १५–१६ वर्षदेखि उहाँ यसै क्षेत्रबाट चुनाव जितेर संसद् भवन पुग्नुभयो । तर, एउटै योजना यहाँ परेन ।
बल्लबल्ल तटबन्धनका लागि भनेर एउटा योजना परेको थियो, त्यो पनि बजेट निकासा नभएर लथालिंग भयो । केन्द्रमा पहुँच र नातेदार भएको भए यहाँ पनि बजेट पर्थ्याे होला ।
अब त्यही नदीको एउटा किनारमा अर्बौँको योजना धमाधम निर्माण भइरहेको छ भने अर्को किनार चुप लागेर हेरेर बस्नुपर्ने अवस्थामा छ । यो अवस्था देखेर तपाईँलाई कस्तो लाग्छ ?
पारिको जस्तो योजना यहाँ पनि आउनुपर्यो भनेर यहाँका स्थानीयले चक्काजाम पनि गरेका थिए । तर, हाम्रो कुरा कसैले सुनेनन् । अब सम्भावनाको कुरा गर्ने हो भने यहाँ पनि पारिजत्तिकै सम्भावना छ । पर्यटक यहाँ पनि आउँछन् ।
कतै पारि प्रधानमन्त्रीकी छोरी मेयर भएका कारणले गर्दा त बजेट परेको होइन ?
अब भन्नलाई त सबै जना त्यही नै भन्छन् । मलाई पनि त्यस्तै लाग्छ । सायद त्यहाँको मेयर सा’ब प्रधानमन्त्रीकी छोरी भएकै नाताले होला त्यहाँ योजना र बजेटको थुप्रो लागेको । अब पारि भरतपुरमा हरेक वर्षजसो केन्द्रबाट करोडौँ करोड रुपैयाँ तटबन्धनका लागि भनेर छुट्टिएर आउँछ, हाम्रोतिर एक पैसा पनि आउँदैन ।
वारि र पारिबीचको यो विभेद देखेर नराम्रो लाग्दैन ?
साह्रै नराम्रो लाग्छ नि ! यहाँका जनताले पनि पारि त्यस्तो छ, यहाँ केही छैन, के हो तिमीहरूको पारा भन्छन् । अब हामीले के गर्ने ? उफ्रेर भएर, कराएर भएन । टुलुटुलु हेरेर बस्नुबाहेक के नै गर्न सकिन्छ र !
प्रतिक्रिया