‘हाम्रो पालिकामा संघ र प्रदेश सरकारको उपस्थिति शून्यप्रायः छ’

‘हाम्रो पालिकामा संघ र प्रदेश सरकारको उपस्थिति शून्यप्रायः छ’

बित्थडचिरका अध्यक्ष भन्छन्– कृषिबाटै समृद्धि ल्याउँछौँ


सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्ने चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार अपराह्न ६.३ म्याग्निच्युडको भूकम्प गयो । बझाङको भूकम्पले भारतको दिल्लीसम्म हल्लियो । भूकम्पले गर्दा १ जनाको मृत्यु भयो भने २ सयजति घर पनि भत्किए ।

बझाङको बित्थडचिर गाउँपालिका पनि उक्त भूकम्पको चपेटामा परेको स्थान हो । यहाँ भौतिक रूपमा त्यति धेरै क्षति नभए पनि स्थानीयमा अहिले पनि त्रास बढिरहेको छ । डरले गर्दा स्थानीय अहिलेसम्म त्रिपाल टाँगेर खुल्ला ठाउँमा बसिरहेको बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महर बताउँछन् ।

उनै महरसँग हामीले ‘गाउँको सरकार’को नयाँ अंकमा पालिकामा भूकम्पपछिको अवस्था तथा पालिकाको समग्र विकास तथा योजनाका विषयमा कुराकानी गरेका छौँ । सहकर्मी रमेश पौडेलले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

एक साताअघि बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । बित्थडचिरमा पनि त्यसको प्रभाव परेको खबरहरू आए । अहिले अवस्था कस्तो छ ?

दसैँको मुखमा भूकम्प गएपछि अहिले यहाँको अवस्था निकै भयावह छ । धेरै घरहरू भत्किएका छन् । ठुलो भूकम्प एक पटक गए पनि त्यसको पराकम्प धेरै पटक आएकाले त्यसको डरले स्थानीयहरू चउरमा पाल हालेर बसेका छन् । अहिलेसम्म ५०औँ वटा पराकम्प गएकाले पनि बाहिरबाट गाउँमा आउन सक्ने अवस्था पनि छैन ।

खै ! कसले हो कुन्नि, फेरि अझै ठुलो भूकम्प आउँछ भनेर हल्ला फैलाइदिएछ । त्यो हल्लाले गर्दा त स्थानीय झनै डराएका छन् ।

भूकम्प गएपछि स्थानीय सरकारले के गरिरहेको छ ?

भूकम्प गएको दोस्रो दिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । हामीले विभिन्न संघसंस्था, प्रदेश र केन्द्र सरकारसँग सहयोग माग्ने निर्णय गर्‍यौँ । किनकि यो भयावह अवस्थामा हामी एक्लैले त्यति ठुलो काम गर्न सक्ने अवस्था रहँदैन । हामी स्थानीय तहले पनि गर्न सक्ने सहयोग गरेका छौँ । यसबीचमा हामीले भूकम्प पीडितहरूलाई त्रिपाल, चामललगायत सहयोग गरेका छौँ ।

यो प्राकृतिक विपत्तिबाट बित्थडचिर चाँडै बौराउने अपेक्षा गर्दै प्रसंग बदल्न चाहेँ । नजिकिँदै गरेको दसैँमा पालिकाबासीका लागि खाद्यान्नको जोहो कसरी भइरहेको छ ?

विगतमा भन्दा अहिले पालिकाको हरेक भेगमा सहज रूपमै खाद्यान्न पुगेको छ । पालिकासम्म आउने सडक पक्की बनेकाले पनि ढुवानीमा सहज भएको छ । निजी क्षेत्रका व्यापारीहरूले पनि खाद्य सामग्री ल्याएकै छन् ।

तपाईँ बित्थडचिर गाउँपालिकाको अध्यक्ष भएको १६ महिना भयो । अध्यक्षका रूपमा काम गरिरहँदा अनुभव चाहिँ कस्तो पाउनुभएको छ ?

अब अनुभव त राम्रै छ । जनताको काम गरिएकै छ । जनताको सुख, दुःखका कुरा सुन्दा उहाँहरूसँग झनै नजिकिएको अनुभव भएको छ । तर, आफूले चाहेजति भने गर्न नसकिँदो रहेछ । हाम्रो पालिकामा अन्तरिक स्रोत केही पनि छैन भन्दा हुन्छ । वार्षिक राजस्व त्यही २५–२६ लाख मात्र उठ्छ ।

हामीले सानोभन्दा सानो काम गर्न पनि संघ र प्रदेशकै मुख ताक्नुपर्ने अवस्था छ । संघ र प्रदेशबाट पनि हामीले चाहेको जस्तो योजना आएका छैनन् । परेको योजनामा पनि समयमै बजेट निकासा नभइदिने, कमिसनको खेल हुने, कर्मचारीको तलब पनि समयमा नहाल्ने समस्याहरू छन् ।

बजेट आयो भने वितरण गर्ने, आएन भने आकाश हेरेर बस्नुपर्ने स्थिति छ । यस्तो परिस्थिति हुँदा चाहिँ कहिलेकाहीँ दुःख लाग्छ ।

तपाईँको नेतृत्वमा अहिलेसम्म पालिकामा के–कस्ता कामहरू भएका छन् ?

मैले अघि नै भनिसकेँ, भौगोलिक विकटता र आन्तरिक स्रोत नभएको पालिका हो– बित्थडचिर । खासै धेरै काम त हुन सकेको छैन । तर पनि मेरै पहलमा यहाँका ६ वटा विद्यालयको नयाँ भवन बनाएका छाँै । ३ वटा सडकमा अहिले धमाधम काम भइरहेको छ भने प्रत्येक वडामा सडक विस्तारको काम भइरहेको छ ।

त्यस्तै, विद्युत् विस्तारमा पनि निकै काम भएको छ । अहिले २ करोड रुपैयाँको टेन्डर लागेर त्यसको पनि काम हुँदै छ । मेरै पहलमा पालिकामा एउटा आँखा अस्पताल पनि खोलियो । विभिन्न ठाउँमा खानेपानीको समस्या समाधान भएको छ । १८ करोड रुपैयाँ लागतमा पालिकास्तरीय अस्पताल पनि धमाधम बनिहेको छ । साथै, गाउँपालिकाको प्रशासनिक भवनको निर्माण लगभग अन्तिम चरणमा छ ।

तपाईँको पालिकामा संघ र प्रदेश सरकारको उपस्थिति कस्तो छ ?

मेरो पालिकामा संघ र प्रदेशको उपस्थिति करिब करिब शून्य जस्तै छ । बजेट बन्नुअघि हामीलाई पालिकाले जुन निर्णय गर्छ, त्यो योजना मात्र पर्छ, त्यही नै आधिकारिक हो भनेर पत्र पठाइएको थियो ।

तर, बजेट बनेर आउँदा हामीले दिएको एउटा पनि योजना परेन । हामीले छनोट गरेका योजनाभन्दा बाहिरको योजना पर्‍यो । योजनाको काममा पनि प्रदेश र संघका प्राविधिक गएका छैनन् । त्यहाँ उपभोक्ता समिति गठन गरेर काम भइरहेको छ । जसले गर्दा गुणस्तरमा पनि कमी आएको हामीले देखेका छौँ ।

योजनाहरू परेकै छैनन् । परेको अवस्थामा पनि पहुँचका आधारमा परेको छ । जहाँ कमिसन आउने खालको छ, त्यहाँ योजना परेको छ । राजनीतिक पहुँच भएका पालिकामा योजना परेको देखिन्छ । हाम्रो जस्तो राजनीतिक पहुँच नभएको पालिकामा योजना पनि छैन ।

कतिपय पालिकामा उपाध्यक्षसँगको सम्बन्धका कारण पालिकामा काम नहुने गरेको अवस्था पनि छ । तपाईँको पालिकामा चाहिँ अवस्था कस्तो छ ?

त्यो अलिअलि कताकता देखिन्छ । मलाई पनि अध्यक्षको जति नै अधिकार हुनुपर्छ भन्ने कता–कता देखेको छु । अध्यक्ष आफैँमा कार्यकारी अधिकार छ । कर्मचारीहरूले पनि अध्यक्षलाई मात्र सोधेर काम गर्ने हुन्छ । उहाँहरू चाहिँ हामीलाई सोधेनन् भन्ने खालको गुनासो गर्नुहुन्छ ।

तर, हाम्रो पालिकामा त्यस्तो छैन । विभिन्न ठाउँमा मैले केही टसल देखेको छु । तर, त्यो केका लागि हो, त्यो पनि थाहा छैन । कतिपय पालिकामा मुखामुख भएको स्थिति पनि देखेको छु ।

सुरु–सुरुमा हाम्रोमा पनि त्यस्तै थियो । अध्यक्षज्यू आफैँले निर्णय गर्नुहुन्छ, मलाई केही पनि सोधिएन भन्ने गुनासो गर्नुहुन्थ्यो । पछि उहाँले अधिकारका विषयमा राम्ररी बुझ्नुभयो । त्यसपछि कुनै समस्या भएको छैन । उहाँले पनि मिलेरै काम गर्ने बताउनुभएको छ । हामीले मिलेरै पालिकाको विकास गर्ने हो ।

प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखको निर्णयलाई कार्यान्यवन नगरिदिएका कुराहरू पनि सुनिन्छ । पालिका प्रमुख र प्रशासकीय अधिकृतबीच टसल जस्तै अवस्था धेरैजसो पालिकामा छ । बित्थडचिरमा अवस्था कस्तो छ ?

हामी कार्यान्वयन पक्षमा नियमभन्दा बाहिर जाँदै जाँदैनौँ । त्यो भएर हाम्रोमा त्यस्तो अवस्था अहिलेसम्म आएको छैन । नियमभन्दा बाहिर त प्रमुख प्रशासकीय अधिकृतले पनि केही गर्न सक्नुहुन्न । जिम्मेवारीको हिसाबमा कार्यान्वयनको तह त पूर्ण रूपमा कर्मचारीकै अधीनमा रहन्छ ।

हामीले गलत ट्रयाकबाट कुनै पनि निर्णय गर्दैनौँ । कानुनसम्मत काम गरेको हुनाले त्यस्ता समस्याहरू अहिलेसम्म भोग्नुपरेको छैन ।

तपाईँको कार्यकाल सकिँदा तपाईँको पालिकाका जनताले के–के पाउँछन् ?

हामीले जनताको आवश्यकतालाई हेरेर काम गरिरहेका छौँ । त्यसैअनुरुप काम पनि भएका छन् । मेरो कार्यकालमा मेरो क्षमताले भ्याए जति पालिकाबासीका लागि समृद्धि, सुशासन, शिक्षा, कृषि र भ्रष्टाचाररहित समाज निर्माणमै बढी जोड दिन्छु ।

साथै, हामीले जनताको आयआर्जनलाई बढी फोकस गरेर काम गरिरहेका छौँ । हामीले एक वडा एक फलफूल खेती भनेर योजना अगाडि बढाएको छौँ । कुनै वडामा हामीले आलु जोन बनाएका छौँ भने कुनै वडामा किबी, कुनैमा सिमी खेतीलाई प्रोत्साहन गरेका छौँ । आर्थिक उन्नतिका लागि प्रत्येक वडामा फरक–फरक खालको कार्ययोजना बनाएका छौँ ।

कृषि उत्पादनको बजारीकरण कसरी भइरहेको छ त ?

कृषि उत्पादनलाई व्यवस्थित बनाउन हामीले एउटा संयन्त्र बनाएका छौँ । जसबाट हाम्रोमा उत्पादन भएको हरियो तरकारी, चामल, फापर, मकै आफ्नै पालिकाका ३३ वटा विद्यालयमा खुवाइरहेका छौँ । पालिकामा खपत हुन नसकेको वस्तुलाई बजारसम्म पुर्‍याउन किसानलाई भाडा दिने, पालिकाले खरिद गरेर सम्बन्धित बजारसम्म लगिदिने जस्ता योजना पनि ल्याएका छौँ । यहाँका किसनलाई कृषि उत्पादको विषयमा कुनै पनि मर्का पर्दैन, त्यो हामी ग्यारेन्टी लिन्छौँ ।

तपाईँहरूको पालिकाको बजेट र आवश्यकताबीच कस्तो तालमेल छ ?

हाम्रोमा दुर्गम बस्ती बढी छन् । त्यहाँ चाहेको जस्तो विकास गर्नै सकिँदैन । हामीले तरकारीको योजना ल्यायौँ, तर सिँचाइको समस्या छ । तरकारी र सिँचाइको पनि योजना ल्याउने हो भने एउटै वडामा ८–१० करोड बजेटले भ्याउँदैन । फरक त छ, तर हामीले त्यसलाई पनि जतिसक्दो जोड्ने कोसिस गरेका छौँ ।

पालिकाका कतिपय वडामा अहिले रोड पुगिसकेको छ भने थोरै भूगोलमा बाँकी छ । अहिले पनि हामीले सडक विस्तारको काम गरिरहेका छौँ । त्यस्तै, यो वर्षभित्र ७० प्रतिशत भूभागमा विद्युत आपूर्ति गर्ने लक्ष्य लिएका छौँ । हामीसँग महत्वाकांक्षी योजनाहरू त धेरै छन् । तर, बजेट कम छ ।

गाउँकाे सरकार शृंखलाः

२४. ‘प्रचण्डकी छोरीको पालिकालाई करोडौँ बजेट, हामीलाई एक पैसा छैन’

२३. ‘यसपालिकाे दसैँमा सरकारले दिएको चामलको टीका लाउन पाइयोस् !’

२२. ‘राजनीतिक दबाब, लोभ–लालचले पालिका चल्दैन’

२१. ‘आन्दोलन गर्ने शिक्षकको तलब रोक्का हुन्छ’

२०. ५ वर्षका लागि ईश्वरपुरका मेयरका ५ प्राथमिकता

१९. ‘चोरेको मोडल’को संघीयताले देश कसरी विकास हुन्छ ?’

१८. ‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’

१७. के भन्छन् हर्क साम्पाङका सारथि ? धरानका उपमेयरसँग विकास संवाद

१६. ‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’

१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’

१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’

१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’

१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’

११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’

१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’

९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’

८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’

६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

२. ‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

१. ‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’