सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख हुन्, मनोजकुमार आचार्य । शालीन र भद्र स्वाभावका उनी धेरै बोल्ने भन्दा पनि गर्न सकिने विषयमा मात्र बोल्न मन पराउँछन् । आफ्नो कार्यकालभर ५ वटा विषयलाई केन्द्रमा राखेर काम गर्ने योजना बनाएका उनले पहिलो वर्ष स्वास्थ्य र अहिले शिक्षा वर्षका रूपमा ती क्षेत्रमा काम गरिरहेका छन् ।
भौगोलिक क्षेत्रमा जिल्लाकै ठुलो नगरपालिका मानिने ईश्वरपुर विशेष गरी माछापालन र कृषि उत्पादनमा आधारित पालिका पनि हो । कृषि र कनेक्टिभिटी नै विकासका संवाहक हुन् भन्ने स्पष्ट धारणा यहाँका जनप्रतिनिधिहरूमा छ ।
सडक कालोपत्रे गरेर देखावटी विकास गर्ने कि दिगो विकासको बाटोमा पालिकालाई लाने डोर्याउने भन्ने विषयमा पनि यहाँका जनप्रतिनिधिहरूबीच दृढ अठोट छ ।
अहिले चलिरहेको शिक्षक आन्दोलनमा सरकार र शिक्षक दुवै पक्ष लचक हुन आवश्यक रहेको मत राख्ने नगर प्रमुख आचार्यसँग आज हामीले समसामयिक विषयसँगै ईश्वरपुरको समग्र विकासका सन्दर्भमा कुराकानी गर्ने प्रयास गरेका छौँ । सहकर्मी कृष्ण उप्रेतीले आचार्यसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
तपाईँ त सामाजिक अभियन्ता हुँदै नेता र अहिले जनप्रतिनिधि बन्नुभएको छ । यसबीचमा नौलो अनुभव के पाउनुभयो ?
त्यस्तो नौलो त केही छैन । सामाजिक हिसाबमा पहिलेदेखि नै सक्रिय भएका कारण जनतासँग जोडिन सजिलै पनि भयो । यसले गर्दा मेयरको भूमिकामा रहेर काम गर्न सहजै भएको छ ।
अभियन्ता वा नेता हुँदा ‘म मेयर भएको भए सबै काम गर्थेँ’ भन्नेहरू अहिले मेयर हुँदा ‘काम गर्न त गाह्रो हुँदो रहेछ’ भनिरहेका छन् । त्यस्तै हुन्छ हो ?
यो बिल्कुलै गलत कुरा हो । सामाजिक अभियानमा हुँदा दुःख–सुख गर्दै आफ्नो छाक टारेर बचेको पैसाले समाज सेवा गरिन्थ्यो । अहिले त झनै सजिलो छ । राज्यले दिएको बजेटलाई उचित ठाउँमा सदुपयोग गर्ने काम हाम्रो । हो, विकासको सवालमा स्रोत साधन र जनताका आवश्यकताका बीच पुलका रूपमा हामीले काम गर्ने हो ।
कुनै ठुला समस्या हुँदैनन् । सोचेका काम झन सहज रूपमा गर्न सकिन्छ । कहिलेकाहीँ प्रक्रियागत रूपमा देखिने समस्या र कानुनी कुरा आउँछन्, तर त्यसलाई नै समस्याका रूपमा व्याख्या गर्नु गतल हो ।
तपाईँले पालिकाको नेतृत्व लिएपछि पालिकामा के–के काम भए ? बुँदागत रूपमा भनिदिनुस् न ।
पहिलो वर्ष हामीले स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै काम गर्यौँ । पहिलो वर्षलाई हामीले स्वास्थ्य वर्षको रूपमै लिएर काम गर्यौँ । आधारभूत सेवादेखि नगर अस्पतालको व्यवस्थापन तथा एम्बुलेन्सको व्यवस्था गर्ने जस्ता दीर्घकालीन विषयमा काम गरेका थियौँ ।
आँखा अस्पताल, जेनेरल वार्डदेखि महिलासम्बन्धी कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्यौँ । ७५३ पालिकामध्ये पालिका आफैँले डाइलासिस सेवा दिने पालिका सायद यो ईश्वरपुर नगरपालिका नै होला । हामीले यसका लागि अस्पतालमा नर्सहरूलाई प्रशिक्षण गराइरहेका छौँ ।
त्यस्तै, यो वर्षलाई हामीले शिक्षा वर्षका रूपमा लिएका छौँ । यो घोषणा नै भएर अहिले कार्यान्वयनको चरणमा छ । करिब ५ हजार विद्यार्थीलाई स्काउटमा सहभागी गराउने हाम्रो लक्ष्य छ ।
त्यस्तै, ‘बुक फ्री’ र ‘ब्याग फ्री’का अवधारणालाई पनि हामीले अघि सारेका छौँ । पालिकाका सामुदायिक र निजी विद्यालयलाई एउटै स्तरमा विकास गर्ने हाम्रो कार्यक्रम छ । त्यसका लागि सामुदायिक विद्यालयको वातावरण पनि तयार हुँदै छ ।
हामीले दसैँतिहार लगत्तै ७ वटा माध्यमिक विद्यालयमा बस सेवा पनि सुरु गर्दै छौँ । यो नगरपालिकाको आफ्नै खर्चमा हुनेछ । यसलाई नै मैले हाम्रो उपलब्धिको रूपमा लिन्छु । अब पुल कुलेसा, बाटाघाटा बन्ने कुरा त चलिरहने कुरा हो । यो त निरन्तर भइनै रहन्छ ।
तपाईँहरूले २०८० लाई शिक्षा वर्षका रूपमा त घोषणा गर्नुभयो । देशभरका शिक्षक अहिले विद्यालय बन्द गरेर आन्दोलनमा छन् । यो त विद्यार्थीको भविष्यमा खेलबाड भएन ? पालिकाले ती शिक्षकहरूलाई कारबाही गर्छ कि गर्दैन ?
शिक्षाको मेरुदण्ड भनेकै शिक्षकहरू हुन् । हाम्रो पालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयमा करिब ३५० शिक्षक कार्यरत हुनुहुन्छ । ऐन कानुन जस्ता विभिन्न कारणले गर्दा अहिले शिक्षा क्षेत्र सोचेअनुसार सञ्चालन हुन सकेको छैन । यो हामी सबैलाई थाहा भएकै विषय हो ।
अब कारबाही गर्ने भन्दा पनि मेरो धारणाचाहिँ के छ भने, शिक्षकहरू पनि एक कदम पछाडि सर्ने र सरकार पनि एक कदम पछि सरेर अहिलेको समस्याको समाधान निकाल्नुपर्छ । एकअर्कामा निषेधको वातावरणले समग्र शैक्षिक क्षेत्रकै हानि हुने देखिन्छ । समग्रमा शिक्षकहरूको सही मागको सम्बोधन हुनुपर्छ भन्ने लाइन ईश्वरपुर नगरपालिकाको छ ।
कतिपय पालिकामा कांग्रेसको मेयर हुँदा एमालेका शिक्षक निकाल्ने र एमालेको मेयर हुँदा कांग्रेसका शिक्षक निकाल्ने प्रपञ्च हामीले देखेका पनि छौँ । हामी यसबाट धेरै टाढा छौँ । यो १५ महिनाको बीचमा त्यस्ता कामबाट ईश्वरपुर अलग्गै बसेको छ ।
‘औँठाछाप नेतृत्वले शिक्षकको अनुगमन गर्ने नसुहाउँदो विषय हो’ भनेर शिक्षकहरूले भन्दै आएका छन् । उनीहरूको आवाज जायज हो ? तपाईँको विचारमा चाहिँ नेतृत्व वर्गहरू शिक्षित हुन कतिको जरुरी छ ?
जनप्रतिनिधि भनेको जनताको सोचलाई कार्यान्वयन गराउने तह हो । जनप्रतिनिधि सबै पढेकै हुन्छन् भन्ने छैन । तर, उसँग समुन्नत समाज निर्माण गर्ने भिजन र खाका हुन सक्छ र कार्यान्वयन गराउन पनि सक्छ । जनप्रतिनिधिलाई सघाउन पढेलेखेका र जानेबुझेका कर्मचारी पनि हुन्छन् ।
किताबै पढ्नुपर्छ भन्ने छैन । अहिले त इन्टरनेटबाट संसार पढ्न पाइन्छ । त्यसबाट पनि धेरै व्यावहारिक ज्ञान पाउन सकिन्छ । अहिलेको परिस्थिति पनि फरक छ । दम्भका आधारमा अहिले राजनीति हुँदैन । समयअनुसार चल्नैपर्ने बाध्यता पनि छ । सबै जनप्रतिनिधि उहाँहरूले भने जस्तै औँठाछाप नै हुन्छन् भन्ने छैन ।
यो विषयमा आरोप–प्रत्यारोप गर्नु उपयुक्त हुँदैन । हुन त एसएलसी पास भएका शिक्षकहरूले निजी विद्यालयमा पढाउँदा निस्किने परिणाम र स्नातक, स्नातकोत्तर गरेकाले सामुदायिक विद्यालयमा पढाउँदा देखिने परिणाम हामी सबैले देखेकै छौँ । कसले कसलाई दोष लगाउने भन्दा पनि समग्र रूपमा कसरी देशको उन्नति हुन्छ भन्ने अभियानमा जनप्रतिनिधि र कर्मचारीहरू लाग्नुपर्छ ।
ईश्वपुरमा राजनीतिक समझदारी कस्तो छ ? पालिकामा पक्ष–विपक्ष छ कि छैन ?
मेरो विचारमा पक्ष र विपक्ष भन्ने नै हुँदैन । समग्र टिमलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा प्रधान रहन्छ । हामी सबै एउटै प्रक्रियाबाट जनप्रतिनिधि बनेका हौँ । हामी सबैलाई यहीँका जनताले चुनेका हुन् । हामी यहाँ विभिन्न पार्टीका भए पनि विकासको सवालमा सबैको एक मत छ ।
सबैको कुरा सबैले सुन्ने प्रचलन यहाँ छ । हामी नगरपालिकाको समृद्धिका लागि हातेमालो गरेर अघि बढेका छौँ । अहिलेसम्म कसैमा वैमनश्यताको भावना देखिएको छैन । हामी सबै मिलेरै अघि बढेका छाँै ।
पालिकाको नेतृत्व लिइरहँदा ५ वर्षभित्र ईश्वरपुरलाई ‘यस्तो बनाउँछु’ र ‘यो तहमा पुर्याउँछु’ भन्ने तपाईँको कुनै योजना थियो ?
मेरा कुनै ठुला योजना छैनन् । र, ठुला कुरा पनि गर्दिनँ । मैले जम्मा ५ वटा विषयलाई प्राथिमकतामा राखेर काम गरिरहेको छु । त्यो हो स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार, युवा तथा खेलकुद र कनेक्टिभिटी ।
पहिलो वर्ष हामीले स्वास्थ्य वर्षका रूपमा काम गर्यौँ । अहिले शिक्षा वर्षका रूपमा काम गरिरहेका छौँ । किसानका लागि कषि क्षेत्रको विकास हाम्रो प्राथमिकताको विषय हो ।
यहाँको उत्पादनलाई बजारसम्म लाने र कृषि उत्पादनले नै किसानको जीवनस्तर उकास्ने वातावरण हामी बनाउँदै छौँ । त्यसका लागि आवश्यक पूर्वाधार पनि बनाउँदै लाने हाम्रो योजना छ । सम्भवतः हाम्रो कार्यकालको तेस्रो वर्ष पूर्वाधार वर्षका रूपमा सञ्चालन हुनेछ ।
अर्को विषय युवासँग जोडिएको खेलकुद छ । यसका लागि हामी पालिकामै मिनी रंगशाला निर्माण गर्ने तयारीमा पनि जुटेका छौँ । समग्र खेदकुदको विषयलाई मैले चौथो कामका रूपमा राख्न चाहेँ ।
पाँचौँ विषय भनेको कनेक्टिभिटी हो । यसमा गाउँगाउँ जोड्ने, किसानका कुलोपैनीमा पुलको व्यवस्था गर्ने, आवश्यकताका आधारमा नगरबासीलाई जोड्ने किसिमका पूर्वाधार हाम्रा प्राथमिकतामा पर्छन् । सडक कालोपत्र गर्नु मात्र विकास होइन, कनेक्टिभिटी मुख्य विकासको संवाहक हो भन्ने मैले बुझेको छु । मनोज आचार्यले ठुला कुरा गर्नेभन्दा पनि जनताको मन जित्ने काम गर्छ ।
अन्तिम प्रश्न, ईश्वरपुरमा मेयर र कर्मचारीबीचको सम्बन्ध कस्तो छ ?
यसका लागि मैले एउटा उदाहरण दिन चाहेँ । यो ईश्वरपुर नगरपालिकामा म आउँदा हिराकाजी श्रेष्ठ यहाँको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । त्यतिखेर आफ्नो १८ महिने कार्यकाल सकेर उहाँ ईश्वरपुरबाट जाने सुरसारमा हुनुहुन्थ्यो ।
मैले त्यतिबेला जो नेतृत्वमा आए पनि मिलेरै काम गर्ने हो भनेको थिएँ । अहिले मैले मेरो कार्यकालको १५ महिना उहाँसँगै बिताइसकेँ । अब यहाँ कर्मचारी र हामीबीचको सम्बन्ध कस्तो होला भनेर तपाईँ आफैँ अनुमान लगाउन सक्नुहुन्छ ।
गाउँकाे सरकार शृंखलाः
१९. ‘चोरेको मोडल’को संघीयताले देश कसरी विकास हुन्छ ?’
१८. ‘पालिका विकासको सवालमा ‘काे कुन पार्टीकाे’ भन्ने कुरै आउँदैन’
१७. के भन्छन् हर्क साम्पाङका सारथि ? धरानका उपमेयरसँग विकास संवाद
१६. ‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’
१५. ‘शून्यबाट सुरु गरेर जनताले अनुभव गर्ने गरी विकास गरेका छौँ’
१४. ‘२ वर्षपछि सिँचाइ अभावकै कारण १ टुक्रा जमिन पनि बाँझो रहँदैन’
१३. ‘चुनाव उपमेयरमा लड्ने अनि अधिकार मेयरको खोज्ने ?’
१२. ‘दिक्तेल विकासको मेरुदण्ड नै संस्कृति र पर्यटन हो’
११. ‘पर्याप्त बजेट नहुँदा बाचा पूरा गर्न गाह्रो हुने रहेछ’
१०. ‘परे कुटाकुटै गरौँला, तर विकासको सवालमा विमति हुँनुहुँदैन’
९. ‘हामी संघीयतामा अभ्यस्त हुनै सकेका छैनौँ’
८. चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ
७. ‘हामीले गरेको काम कागजमा होइन फिल्डमा देखिन्छ’
६. ‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’
५. ‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’
४. गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !
३. ‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’
प्रतिक्रिया